• १३ साउन २०८१, आइतबार

सरोज चौधरी २९ औँ पटक भलमन्सा

blog

२९ औं पटक भलमन्सा चयन हुनु भएका सरोज चौधरी ।

अविनाश चौधरी

धनगढी, माघ ७ गते । कैलालीका सरोज चौधरी २९ औँ पटक आफ्नो गाउँको भलमन्सा (बरघर) मा चयन हुनु भएको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको उहाँ २९ औँ पटक भलमन्सा हुनु भएको हो । 

चौधरी २०५२ सालदेखि लगातार सो गाउँको भलमन्सा बन्दै आउनुभएको छ । गाउँको भुरा खेलले उहाँलाई सर्वसम्मतले भलमन्साको जिम्मेवारी सुम्पेको हो । गाउँ समाजमा आफूले निःस्वार्थ रूपमा बिनापारिश्रमिक सेवा गर्दैआएको भलमन्सा चौधरीले बताउनुभयो । पहिले बुबा–बाजेले गाउँको नेतृत्व गरेकोमा उहाँहरू बितेपछि त्यो जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले चर्चा गर्नुभयो । 

यसअघि, चौधरीका बुबा रामचन्द्र र बाजे मन्ठुले धनगढी गाउँको भलमन्साको रूपमा आफ्नो जीवनभर काम गर्नुभएको थियो । उहाँको परिवारले तीन पुस्तादेखि धनगढी गाउँको नेतृत्व गर्दैआएको छ ।  

गाउँ समाजको नेतृत्वको जिम्मेवारी पाएपछि भलमन्साले विकास निर्माण, आपसी मेलमिलाप, सरोकारवालासँग समन्वय लगायतको काममा प्रभावकारी भूमिका निर्वाह गर्दैआएको स्थानीयको भनाइ छ । चौधरीले राम्रो काम गर्दैआएकाले उहाँलाई फेरि भलमन्साको रूपमा चयन गरेको धनगढी गाउँका स्थानीय सूर्य चौधरीले बताउनुभयो ।