• १३ साउन २०८१, आइतबार

प्रहरीमाथि चक्कु प्रहार गरी युवक फरार

blog

घाइते प्रहरी जवान ठगुन्नाको उपचार हुँदै । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, माघ ७ गते । दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवर दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका छन् ।

आज दिउँसो डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नालाई कुँवरले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताउनुभयो ।

उमेशले आफ्नै श्रीमती धनिशा कुँवरलाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरी टोली कुँवरको घरमा गएको थियो । घटनाको अनुसन्धानका लागि सामुदायिक प्रहरी केन्द्र बंगाबगरबाट उमेशको घरमा गएको प्रहरी टोलीमाथि आक्रमण भएको थियो । 

उमेशले धनिशालाई चक्कु प्रहार गर्न खोजेका बेला बचाउन खोज्दा प्रहरीलाई लागेको बताइएको छ । चक्कु प्रहारबाट प्रहरी जवान डम्बर ठगुन्नाको आँखा र कानको तल्लो भागमा गहिरो चोट लागेको छ । प्रहरी हवल्दार खड्कालाई समेत चोट लागेको छ । 

दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र जवान ठगुन्नाको घाउमा सात टाँका लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते दुवै प्रहरी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

गत भदौमा भागेर बिहे गरेका उमेश र धनिशाको झगडा हुँदैआएको आफन्तजनले बताएका छन् । उमेशले धनिशालाई पिटेर घरेलु हिंसा गरेको निवेदन समेत प्रहरीमा पुगेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिन प्रहरी टोली उमेशको घरमै गएको थियो ।

प्रहरीलाई चक्कु प्रहार गरेर भागेका उमेशको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताउनुभयो । उमेश केही समय पहिले सुधार गृहबाट फर्किएको समेत बताइएको छ । चक्कु प्रहार गर्ने कुँवरमाथि ज्यानमार्ने उद्योगको मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।