• १३ साउन २०८१, आइतबार

जनप्रतिनिधि जनताप्रति जबाफदेही बन्नुपर्छ : प्रमुख जोशी

blog

प्रदेश सभा दिवसमा उपस्थित प्रदेश प्रमुख देवराज जोशी लगायत । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, माघ ७ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी र जबाफदेही हुनुपर्ने बताउनुभएको छ । 

सुदूरपश्चिम प्रदेश सभा दिवसका अवसरमा बोल्दै प्रदेश प्रमुख जोशीले सो कुरा बताउनुभएको हो । प्रदेश प्रमुख जोशीले अगाडि भएका जनप्रतिनिधिले संविधानअनुसार सही बाटो देखाए व्यवस्था समेत बलियो हुने बताउनुभयो । 

सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकारका कारण सङ्घीयता र गणतन्त्र कमजोर भइरहेको बताउनुभयो । उहाँले सरकारका मन्त्रालयमा बुख्याचाहरु प्रवेश गरेको आरोप  लगाउनुभयो । 

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सङ्घीयता आएपछि जनताको जीवनस्तर उठेको बताउँदै विकास निर्माणले समेत गति लिएको दाबी गर्नुभयो ।  

पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री दीर्घबहादुर सोडारी, पूर्व सभामुख अर्जुनबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका टीकादेवी थापालगायतले प्रतिगामीहरूले सङ्घीयताको विरोध गरेको, आफूहरूले योबिचमा भएका कामबारे जनतालाई बुझाउन नसकेको बताउनुभयो ।  

कार्यक्रममा लोकतान्त्रिक गणतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।