• १३ साउन २०८१, आइतबार

सुरोजलाई रापिड बुद्धिचाल उपाधि

blog

रापिड बुद्धिचाल उपाधि विजेता खेलाडीहरु ।

काठमाडौँ, माघ ६ गते । टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका सुरोज महर्जनले जित्नुभएको छ । 

हालै छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपमा ललितपुर स्पोर्ट्स क्लबबाट खेल्नुभएका सुरोजले अन्तिम चरणको खेलमा काठमाडौँका धिरेन राईलाई पराजित गर्नुभयो । उत्कृष्ट लयमा रहनुभएका सुरोजले आठ खेलमा जित निकाल्नुभयो । छैटौँ चरणको खेलमा भने शुसुरत दाहालसँग पराजित हुनुभएको थियो । उपाधिसँगै उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

काठमाडौँका सुदिप तामाङ दोस्रो र धिरेन राई तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः १० हजार र सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । टोखा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा झापाका शुसुरत दाहाल चौथो र सुमन लामा पाँचौँ हुनुभयो । १०औँ स्थानसम्म रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । 

अनरेटेडमा फुर्वा लामा उत्कृष्ट ठहरिनुभयो । भेट्रानमा भक्तपुरका गणेशमान दुवाल पहिलो हुनुभयो । महिलातर्फ काठमाडौँकी पुर्णिामा गुरुङ विजयी हुनुभयो । स्थानीय टोखा खेलाडीका जितेन्द्र डङ्गोलले बाजी मार्नुभयो । यस्तै यु–१४ मा छात्रातर्फ रिया श्रेष्ठ र छात्रमा अभिन पाण्डे पहिलो हुनुभयो ।

विजेतालाई टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले पुरस्कृत गर्नुभयो । अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजुले सञ्चालन गर्नुभएको दुई दिने  प्रतियोगितामा एक सय ७८ खेलाडीले भाग लिएका थिए ।