• ७ जेठ २०८१, सोमबार

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काद्वारा सेनाको सबुज गण निरीक्षण

blog

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण पछि मन्तव्य राख्नुहुँदै ।

भरतपुर (चितवन), माघ ६ गते । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिबार नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको बताउनुभयो । 

“भरतपुर विमानस्थल विस्तारका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि उपलब्ध गराउनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनाहरू समेत स्थानान्तरण गर्नुपर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूबिच आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्न आवश्यक छ ।”

यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उहाँको भनाइ थियो । राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्र नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा समेत संयुक्त राष्ट्र सङ्घको झण्डा मुनि रहेर शान्ति स्थापनामा विशेष योगदान गर्दै आएको रक्षामन्त्री खड्काले बताउनुभयो । 

नेपाली सेनाको यस योगदानले नेपाल र नेपालीको शिर उँचो बनाएको भन्दै उहाँले सेनाको व्यावसायिक क्षमतालाई उच्च राख्न नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचनाको निर्माण तथा आधुनिक सैन्य उपकरणहरूको व्यवस्था गर्न राज्यले निरन्तर जोड  दिँदै आएको उल्लेख गर्नुभयो । 

“नेपाली सेनामा रही काम गर्ने सबै राष्ट्रसेवकहरूको मनोबल र उत्प्रेरणालाई उच्च राख्न सरकारले प्राथमिकता दिएको छ । आगामी दिनमा राज्यको क्षमता र साधनस्रोतले भ्याएसम्म नेपाली सेनाको थप सुदृढीकरणका लागि विभिन्न व्यवस्थाहरू गर्दै लगिनेछ,” उहाँले भन्नुभयो । 

नेपाली सेनाले सीमित स्रोत, साधन र सुविधाको बाबजुद हिमाल, पहाड र तराई सबैतिर खटिएर अहोरात्र राष्ट्रको सुरक्षामा खटिएको भन्दै कार्यसम्पादनका क्रममा सेनाले भोगेका समस्या र अप्ठ्यारालाई सरकारले महसुस गरेको उहाँले बताउनुभयो । ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारको क्षमताले भ्याएसम्म क्रमशः सम्बोधन गर्दै जाने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । 

“मेरो नेपाल मेरो स्वर्ग” भन्ने आदर्श वाक्य बोकेको नयाँ सबुज गणमा खासगरी तराई/मधेसमा बसोबास गर्ने नागरिकहरूको प्रतिनिधित्व हुने गरी नेपाली सेनाका विभिन्न विभाग, कार्यालय, महानिर्देशनालय, निर्देशनालय, पृतना, वाहिनी युनिटरसब युनिटलगायत ११७ स्थानबाट विभिन्न दर्जाका सैनिक व्यक्तिहरू सम्मिलित गराई यो नयाँ गण २०६३ साल असार २८ मा महोत्तरीको पकौलीमा स्थापना भएको हो । 

यो गण ओखलढुङ्गा, हेटौँडा, सुर्खेत लगायतका जिल्लाहरू हुँदै गत वैशाख १५ गतेदेखि चितवनको भरतपुर ब्यारेकमा तैनाथ छ। तराईरमधेसमा बसोबास गर्ने समुदायको विशेष प्रतिनिधित्व र बाहुल्य भएको यस गणमा करिब ८० प्रतिशत तराईरमधेस मूलका विभिन्न दर्जाका सैनिकहरू कार्यरत रहेको भन्ने थाहा पाउँदा आफूलाई खुसी लागेको उहाँको भनाइ थियो ।