• ४ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीमाथि मधेशको सहज जित

blog

त्रिवि मैदानमा शनिबार प्रतिस्पर्धा गर्दै मधेश र कर्णालीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ ६ गते । मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले हरायो । 

जितका लागि दुई सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७० रनमा समेटिएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाउनुभयो । दिनेश अधिकारीले ३३ र विपिन शाहीले ३१ बनाउनुभयो । बलिङमा मधेशका लागि राजेश यादवले र प्रदीप पासवानले दुई दुई विकेट लिनुभयो । रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले एक एक विकेट झार्नुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३१ रन बनाएको थियो । मधेशको जितमा कप्तान हरिशंकर शाह र मयन यादवले अर्धसतकीय इनिङ्स खेल्नुभयो । हरिशंकर र मयनले समान ५०/५० रन बनाउनुभयो । 

अनिल शाहले ४४, अविशेक तिवारीले ३४, राजेश यादव र प्रदीप पासवानले ११/११ रन बनाउनुभयो । बलिङमा दीपेन्द्र रावतले चार विकेट लिनुभयो । अनुज चनाराले दुई तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले एक एक विकेट लिनुभयो । जितसँगै मधेशले ६ अङ्क बनाएको छ । कर्णालीको चार अङ्क छ । सुदूरपश्चिम र बागमतीले पनि समान ६ अङ्क बनाएको छ ।