• ७ जेठ २०८१, सोमबार

मुलुक कांंग्रेसकै नीतिअनुसार चलेको छ : उपसभापति खड्का

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै ।

नवलपरासी, माघ ६ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आयोजना गरेको प्रशिक्षणका क्रममा उहाँले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताउनुभयो ।

उहाँले आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरू थप ठुलो आशा र भरोसा जाग्ने गरी अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिनुभयो । 

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठुलो पङ्क्तिका बिच  खटपट हुने नदिने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो । जनप्रतिनिधि र पार्टी पति मिलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बिचमा जान थप सहज हुने उहाँको भनाइ थियो ।


उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गर्नुभयो ।

उहाँले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । उहाँले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगामी दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ”, उहाँले भन्नुभयो ।

२०४६ सालपछि विकास निर्माणको ठुलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्‍याउन नसकिएको उपसभापति खड्काको भनाइ थियो । उहाँले पार्टी सुधार र रूपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्‍याउने गरी सुधार गर्नुपर्छ भन्नुभयो ।