• १३ साउन २०८१, आइतबार

कालीगण्डकी आयोजना निर्माणलाई गति दिन्छौँ : मन्त्री ज्वाला

blog

बेनी–जोमसोम सडक अन्तर्गत रघुगंगा गाउँपालिका –२ सिरुवारीस्थित सडक माथिबाट आएको पहिरोको स्थलगत अनुगमन गर्दै मन्त्री प्रकाश ज्वालालगायत । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य/अमृतप्रसाद पौडेल 

म्याग्दी, माघ ६ गते । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजना निर्माणमा भएका समस्यालाई चाँडै समाधान गरेर निर्माणलाई गति दिने बताउनुभएको छ । 

मन्त्री ज्वालाले शनिबार कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी खण्डसम्मको स्थलगत रूपमा अनुगमनका क्रममा सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘‘कोरिडोर आयोजना निर्माणमा देखिएका समस्यालाई स्थलगत रूपमा नै अध्ययन र अनुगमन गर्न सडक विभागको टोलीसहित आएको छु । यहाँ देखिएका समस्याका बारेमा तुरुन्त समाधान गरेर निर्माणलाई गति दिन्छौँ ।’’ 

अनुगमनमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जाली, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख ध्रुव झा, प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतले सडक निर्माणको अवस्थाका बारेमा अनुगमन गर्नुभएको थियो । 

राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनामा भएको ढिलासुस्तीले सबैको ध्यान तानेको छ, मन्त्री ज्वालाले भन्नुभयो, ‘‘कतिपय स्थानमा काम भएको पनि देखिएको छ । कतिपय स्थानमा अझै ठेकेदारले ढिलासुस्ती गरेको देखियो । स्थानीयस्तरमा कतै निर्माण सामग्रीको अभाव पनि देखिएको छ ।” 

यहाँबाट फर्किएर तुरुन्त सबै पक्षसँग बसेर एउटा निष्कर्ष निकालेर सडक निर्माणलाई गति दिने उहाँले बताउनुभयो । मन्त्री ज्वालाले कोरिडोर अन्तर्गत रघुगंगा गाउँपालिका –२ बैसरी र सिरुवारीस्थित पहिरोग्रस्त क्षेत्रको पनि अनुगमन गर्नुभएको थियो । म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन सात अर्ब ५५ करोड रुपियाँ लागत अनुमान गरिएको योजनाका लागि गत आर्थिक वर्ष २०७९–८० सम्म ६ अर्बभन्दा बढी खर्च भइसकेको छ । 

हालसम्म छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुुईवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । योजनामार्फत १८ वटा पक्की पुल र तीन वटा बेलीब्रिज निर्माणको काम सकिएको छ । 

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिसहित दुई लेनको कालोपत्र र ग्राभेल गर्न विसं २०७३–७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । तेह्रवटा खण्डमध्ये आठ खण्डको निर्माण सकिएको छ । 

कमजोर भूगोल, प्राकृतिक प्रकोप र निर्माण व्यवसायीको ढिलासुस्तीका कारण म्याग्दीखण्ड र पर्वतको मालढुङ्गादेखि बेनीको खण्डमा अपेक्षा गरेअनुसार सडक निर्माणले गति लिन सकेको छैन ।