• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घेबिच भेटवार्ता

क्षेत्रीय सहकार्यमा एक ठाउँ उभिन आवश्यक : प्रधानमन्त्री

blog

नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता । तस्बिर : प्रधानमन्त्री प्रचण्डको सचिवालय

कम्पाला, माघ ६ गते । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिनुभयो ।


भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिनुहुँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताउनुभयो । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

भेटवार्तामा श्रीलङ्काका राष्ट्रपति डा. सिङ्घेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलङ्काबिच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।