• १३ साउन २०८१, आइतबार

वडा कार्यालयद्वार छात्रालाई साइकल उपहार

blog

छात्राहरुलाई साइकल वितरण गरिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, माघ ६ गते । घरदेखि विद्यालयको दूरी टाढा भएका बस्तीका छात्रालाई साइकल उपहार दिइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ ले तीन टोलका छात्रालाई साइकल उपहार दिएको हो । 

वडाले भितरिया, मैनार र बुलाकी टोलका ५० विद्यार्थीलाई साइकल प्रदान गरेको छ । साइकल खरिदका वडाले ४ लाख रुपियाँ विनियोजन गरेको छ । साइकल सहयोगले छात्राहरुको विद्यालय छाड्ने दरमा कमी हुने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारु चौधरीले बताउनुभयो । 

टोल विकास संस्थाको सहयोगमा कक्षा ६ देखिमाथि अध्ययन गर्ने छात्राहरू छनोट गरिएको थियो । तीन बस्तीका बालबालिकाका लागि मैनार र भितरीयामा कक्षा ५ सम्म अध्यापन हुने विद्यालय रहेको छ । थप अध्ययनका लागि पूर्व–पश्चिम राजमार्गको चन्द्रौटा, शिवपुर र खरेन्द्रपुर पुग्नुपर्ने बाध्यता रहेको नगर उपप्रमुख चौधरीको भनाइ छ । 

त्यहाँका विद्यार्थी सात किलोमिटर दूरीको यात्रा गरी विद्यालय पुग्दैआएका थिए । ‘बस्तीबाट विद्यालय टाढा छ । वन क्षेत्र भएकाले आउजाउ गर्न समस्या छ । किशोरीहरूलाई सुरक्षाको समेत समस्या थियो । ग्रामीण बस्तीबाट विद्यालय पुग्न सवारी साधन सञ्चालन चल्दैन । छात्राहरूले उच्च शिक्षा अध्ययन गर्न र विद्यालय छाड्ने दर शून्य बनाउन साइकल उपहार दिइएको हो’ वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।