• १३ साउन २०८१, आइतबार

८० वर्षे उमेरमा धूमधाम बिहे

blog

सामाजिक परम्पराअनुसार बिहे गर्दै धामी दम्पति । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, माघ ६ गते । दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गर्नुभएको हो । 

पनाती पनातिनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धूमधामसँग बिहे गर्नुभयो । शुक्रबार बिहे गरेका धामी दम्पतिको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाति, ४ नातिनी, ३ नातिने बुहारी, ४ पनाती र ३ पनातिनी गरी जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाति नाता पर्ने भगतसिंह धामीले जानकारी दिनुभयो ।

बेहुला (दुलहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उहाँले बताउनुभयो । दुवै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको छ । दुलहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुरपोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहेविधि पूरा गरेर घरभित्र सांस्कृतिक परम्पराअनुसार भित्र्याउनुभयो । 

धामी दम्पतीको यो बिहेले सांस्कृतिक सन्देश समेत दिएको स्थानीयहरूले बताएका छन् । बिहे र बिहेभोजमा सबै स्थानीय आफन्त, इष्टमित्रले यो उमेरमा बिहे गरिरहेका धामी दम्पतीलाई जिस्क्याएर रमाइलो गरेका थिए । बुढेसकालमा बिहे गर्न पाउँदा रमाइलो अनुभूति भएको धामी दम्पतीको भनाइ छ ।