• ७ जेठ २०८१, सोमबार

चिकित्सक सुविधासहित गाउँमै अस्पताल

blog

पदमपोखरी अस्पतालको उद्घाटन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, माघ ६ गते ।
 चिकित्सकको सुविधासहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौँडा उपमहानगरपालिकाले पालिकास्तरको अस्पतालको सुरुवात गरेको छ । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा निर्मित पदमपोखरी अस्पतालको हेटौँडाका प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको छ ।

पालिकाले सञ्चालन गरेको पाँच बेडको अस्पतालले गत १७ पुसबाट चिकित्सकसहितको सुविधा दिँदै आएको थियो । अस्पतालले आकस्मिक सेवासहित अन्य सामान्य उपचार सेवा दिँदै आएको छ ।

अस्पतालको उद्घाटन गर्नुहुँदै प्रमुख लामाले स्थानीयलाई उनीहरूकै ठाउँबाटै स्वास्थ्य उपचार दिलाउनका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो । स्वास्थ्य चौकीबाट दिँदै आएको सुविधालाई केही विकसित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । चिकित्सकसहितको सुविधा दिने उद्देश्यसहित पालिकाले नगरको दुई ठाउँमा अस्पताल सञ्चालन गरेको प्रमुख लामाले जानकारी दिनुभयो ।

अस्पतालको उद्घाटनसँगै पदमपोखरीमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । शिविरमा २६६ महिला र १७१ जना पुरुष गरी ४३७ जनाले सेवा लिएको अस्पतालका सिनियर अहेब शेरबहादुर व्लोनले जानकारी दिनुभयो । शिविरमा सेवा लिन आएकामध्ये ३५० जनालाई आँखाको, १०८ जनालाई ल्याब २३ जना मानसिक सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका–१३ का अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्ध नेपाल, सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।