• ६ जेठ २०८१, आइतबार

हिउँ नपर्दा भोकमरीको चिन्ता

blog

यदुप्रसाद भट्ट 

मनाङ, माघ ३ गते । मङ्सिरदेखि हिउँ पर्न सुरु हुने हिमाली जिल्लाहरूमा यसपालि हिउँ देखिन छाडेको छ । समयमै हिउँ नपर्दा मौसममा परिवर्तन आएको छ । सधैँ हिउँले ढाकिएका सेताम्मे डाँडाकाँडा अहिले मरुभूमि जस्तै बनेका छन् अनि कालापत्थरमा परिणत हुँदै गएका छन् । वर्षको दुई महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने मनाङी किसान हिउँ नपर्दा चिन्तित छन् । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने अनि बालीनाली पनि फस्टाउने स्थानीय किसान बताउँछन् । मङ्सिरबाट पर्नुपर्ने हिउँ यसपालि त माघ लागिसक्दा पनि देख्नै मुस्किल परेको छ । 

कृषि तथा पर्यटनलाई नजिकैबाट नियालिरहेका नासोँ गाउँपालिका–८, ताचैका स्थानीय युवा यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नहुँदा पर्यटन व्यवसायमा ठुलो असर गरेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटकले के हेर्ने ?” उहाँले हिमाली क्षेत्र नै खतरामा परेको उल्लेख गर्दै समयमा हिउँ नपर्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमसी, पाँचऔँले, चिराइतो आदिको उत्पादनमा कमी आउने बताउनुभयो । यसले प्रत्यक्ष रूपले मानव जीवनमा असर गर्ने उहाँको तर्क थियो । मनाङका स्थानीयको आत्मनिर्भर हुने बाटो नै बन्द भएको गुनासो गर्दै उहाँले थप्नुभयो, “समयमा हिउँ नपर्दा बालीनाली गहुँ, उवा उम्रिएको छैन, त्यसैले धेरै उत्पादन गरेर मुनाफा कमाउनेभन्दा पनि कसरी बाँचौँ भन्ने कुराले सताउन थालेको छ ।” 

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जलवायु परिवर्तनमा असर परेकाले यसपालि मङ्सिरपछि हिउँ नपरेको बताउनुभयो । उहाँले चिसो कम भएकाले तापव्रmम वृद्धि भएको उल्लेख गर्दै हिउँ नपर्दा हिमपहिरो थुप्रिने सम्भावना कम हुँदै जाने बताउनुभयो । हिउँ नपर्दा सुक्खाको मात्रा बढ्ने तथा बढी चिसो हुने हुँदा बालीनाली नसप्रिने उहाँको तर्क थियो । विगतका वर्षमा मङ्सिर र पुसमा गरी दुई पटक हिउँ परेको नासोँ गाउँपालिका–८ का वडाध्यक्ष याद घलेले बताउनुभयो । उहाँले यसपालिको मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपर्दा प्राकृतिक स्रोतसाधनको कमी हुने तथा वनस्पतिलाई असर गर्ने बताउनुभयो । संरक्षण क्षेत्र व्यवस्थापन समिति ताचैका पूर्वअध्यक्षसमेत रहेका घलेले यसपालि उवालगायतका बालीनाली पनि नउम्रेको बताउनुभयो । घलेले विगतका वर्षमा यतिबेला जताततै हरियाली भएको स्मरण गर्नुभयो । हिउँ नपर्दा किसानलाई अब भोकमरी पर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको उहाँको भनाइ छ ।  

मनाङ ङिस्याङ गाउँपालिका–५, पिसाङका चौँरीपालक किसान याङ्डु गुरुङले सधैँ मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न सुरु हुने भए पनि यसपालि हिउँ देख्न नपाएको बताउनुभयो । त्यस्तै पिसाङकै स्थानीय युवा राम गुरुङले जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “जाडोयाममा हिउँले डाँडा सबैतिर सेताम्मे देखिन्थे तर यसपालि त हिमालमा समेत हिउँ छैन । सेता हिमाल काला हुँदै गएका छन् ।” पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ देख्न मुस्किल भएको उहाँको भनाइ थियो । मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायतका हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँको हिमनदी पग्लने क्रम बढेको छ । 

जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म हिउँ नपरेको नासोँ गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो । हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उहाँले बताउनुभयो ।