• १ जेठ २०८१, मङ्गलबार

‘विपत् व्यवस्थापन प्राथमिकतामा’

blog

वालिङ समाचारदाता

वालिङ, माघ ३ गते  । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।  भूकम्प सुरक्षा दिवसको अवसर पारेर स्याङ्जाको वालिङमा ‘समुदाय खोज र उद्धार तालिम’ को समापन तथा पूर्वाभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उद्धार, खोज र राहत कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाँले गण्डकी प्रदेशमा पहाडी क्षेत्र धेरै भएकाले सुरक्षा निकाय तथा सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले पूर्वतयारी गरिरहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेश सरकारले २० जना गोताखोरलाई तालिम दिएर तयारी अवस्थामा राखेको छ ।” 

विपत्जन्य समस्या जुनसुकै बेला पनि आउन सक्ने भन्दै मुख्यमन्त्री पाण्डेले सबै पक्षको सहकार्यले मात्रै सफलता पाउन सकिने धारणा व्यक्त गर्नुभयो । प्रदेश सरकारले प्रदेशमा १० करोड र जिल्लामा १० लाख रुपियाँ नघट्ने गरी विपत्का लागि कोष राखेको बताउनुभयो । सशस्त्र प्रहरीको ३० नं. गुल्मद्वारा वालिङ नगरपालिका–९ स्थित आँधीखोलामा मङ्गलबार भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्धारको पूर्वाभ्यास गरिएको थियो । पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा भूकम्पमा परेका, बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो । उद्धार गरिएका घाइतेलाई खोलाको तिरमा नै प्राथमिक उपचार केन्द्रको स्थापना गरेर उपचारको अभ्यास गरिएको थियो । नदीमा डुबेका व्यक्तिलाई गोताखोरको सहायताले उद्धार गरिएको थियो ।

प्रहरीले अग्लो ठाउँबाट डोरीको सहायताले घाइतेको उद्धार कसरी गरिन्छ भन्ने नमुना पनि प्रस्तुत गरेका थिए । सशस्त्र प्रहरीका ३० नं. गुल्मका प्रमुख देवराज जोशीले मनसुनजन्य विपत्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरूप वालिङमा सुरक्षाकर्मीले उद्धारको पूर्वाभ्यास गरेको जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीले सञ्चालन गरेको ‘समुदाय खोज र उद्धार तालिम’ को समापन पनि गरिएको छ । सशस्त्र प्रहरीले केही समयदेखि सोही क्षेत्रमा तालिम सञ्चालन गर्दै आएको थियो ।