• ४ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट : बागमती र पुलिस विजयी

blog

मधेशको ६ विकेट लिएपछि बागमतीका स्पिनर सूर्य तामाङ । तस्बिर : क्यान

काठमाडौँ, माघ २ गते । बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा स्पिनर सूर्य तामाङको महत्त्वपूर्ण ६ विकेटको सहयोगमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८६ रनले हरायो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पुलिसले कोशी प्रदेशलाई सात विकेटले हरायो । 

जितको लागि एक सय ९१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मधेश २९ ओभरमा सबै विकेट गुमाइएर एक सय चार रनमा समेटिएको थियो । मधेशका पवन सरार्फले सर्वाधिक ४५ रन बनाउनुभयो । ओपनर मयन यादवले ३१ र नीरज यादवले १५ रन बनाए । अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङमा बागमतीका सूर्य तामाङले ६ विकेट लिनुभयो । इशान पाण्डे र प्रतिश जिसीले दुई दुई विकेट लिनुभयो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९० रन बनाएको थियो । बागमतीका प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाउनुभयो । रविन जोशीले २१, इशान पाण्डेले १५, विपिन आचार्यले १३, रित गौतम १२ र रिजन ढकालले ११ रन बनाउनुभयो । 

बलिङमा मधेशका अरनिको यादव र रुपेश सिंहले दुई दुई विकेट लिनुभयो । राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले एक एक विकेट झार्नुभएको थियो । यस्तै कीर्तिपुरमा जितको लागि एक सय ६७ रनको  विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २३.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

पुलिसको जितमा अर्जुन साउदले सर्वाधिक अविजित ६२ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले अविजित ३८, दिलीप नाथले ३१, सुनिल धमलाले १६ र कुशल भुर्तेलले १२ रन बनाउनुभयो । बलिङमा कोशीका कमल खत्रीले दुई तथा सोनु मण्डलले एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो । कोशीको लागि सुजन थपलियाले एक सय पाँच रनको सतकीय इनिङ्स खेल्नुभयो । उहाँले एक सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतमा उक्त रन बनाउनुभएको हो । अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाउनुभयो ।

बलिङमा पुलिसका लागि करण केसीले  तीन विकेट लिनुभयो । यस्तै ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई दुई तथा राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट झार्नुभयो ।