• २४ असार २०८१, सोमबार

केन्द्रीय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल ।

काठमाडौं, माघ २ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ ।

मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरूले गरेको प्रस्ताव स्वीकृत नभए पाँच सय शय्यामा केन्द्रीय अस्पतालहरू बन्द हुने अवस्था रहेको समेत स्पष्ट पार्नुभयो ।

हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नुपर्ने सचिव पोखरेलको भनाइ थियो । उहाँले सो दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन पनि समितिका सदस्यहरूसँग आग्रह गर्नुभयो । सचिव पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित पाँच जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताउनु भयो । यसैगरी, अस्पतालहरू बिहान ९ देखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिएपनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

‘‘अर्को एउटा नीतिमा आएको हामीले नसक्ने काम पनि छ । प्रत्येक स्थानीय तहमा विशेषज्ञ पाँच जना डाक्टर पठाउनु भन्ने पनि नीतिमा आयो । जुन सम्भव छैन । बिहान ८ देखि बेलुका ८ बजेसम्म अस्पताल खोल्नु भन्ने पनि आयो । त्यो कसरी सम्भव होला । मुख्य अर्थ मन्त्रालयबाट यो दरबन्दी र ओएनएमलाई पास गर्नका लागि सहयोग पुर्‍याई दिनुहुन्छ भनेर मैले अन्तिम अनुरोध गरेँ । केन्द्रीय अस्पताल दरबन्दीको कुरा अघि उठाइएको थियो । केन्द्रीय अस्पतालको दरबन्दी हामीलाई १५ देखि १६ हजार तुरुन्तै चाहिनेछ ।,’’ सचिव पोखरेलले भन्नुभयो, ‘‘यो भएन भने हाम्रा पाँच सय बेडका केन्द्रीय अस्पतालहरू हुँदैनन् । र, आगामी दिनमा बन्दै गरेका ५, १० र १५ बेडका अस्पतालको एउटा प्रस्तावित दरबन्दीको आर्थिक पाटोमा नेपाल सरकारले दिएन भने ती अस्पतालहरू चल्दैनन् । यसमा हामी प्रष्ट छौँ । हामीले त्यही आधारमा लविङ गरिराखेका छौँ ।’’

बैठकमा बोल्नुहुँदै सांसदहरूले रोग लाग्नै नदिने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री डा. विमला पौडेल (राई) ले जनचेतनामूलक कार्यक्रममा ध्यान दिएर निरोगी नेपाल बनाउने अभियानमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब यो नसर्ने रोगको विषयमा खानपान, जीवनशैलीसँग गाँसिएको विषय भएको हुनाले बढी ध्यान दिनुपर्ने भएकाले यसमा जनचेतनामा नै जोड दिनुपर्छ भन्ने मलाई लागेको छ । हामीले रोग नै लाग्न नदिने कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ जस्तो लाग्छ मलाई । यसका लागि स्कुल एजुकेसन इम्पोटेन्ट होला । यतातिर ध्यान पुगेको छैन कि जस्तो मलाई लागिरहेको छ ।’’

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साह (गरिमा) ले जिल्लामा रहेका सरकारी अस्पतालहरू बन्द हुने अवस्थामा पुग्दा पनि संवेदनशील नभएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले प्रादेशिक स्तरमा रहेका आयुर्वेद अस्पतालहरूबाट जनताले सेवा लिन नपाएकोतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद साहले भन्नुभयो, ‘‘हामी स्वास्थ्यमा कति संवेदनशील छौँ भन्ने कुराको उदाहरण छन् धेरै । अर्को चाहिँ यो आयुर्वेद औषधालयहरू प्रादेशिक रूपमा पनि छन् । त्यो छ कि छैन भन्ने नै थाहा छैन । उसले कामै गर्दैन भने के को लागि स्थापना गरिएको हो ? जनताले त्यसबाट कुनै लाभ लिन सकेको छैन भने त्यत्रो खर्च गरेको के अर्थ ?’’ सांसद साहले जनताले सेवा नपाउने अस्पतालहरूमाथि सरकारले कडा निगरानी राख्नुपर्ने बताउनु भयो ।