• १५ असार २०८१, शनिबार

कचनकवलमा हात्ती आतङ्क, २२ घर भत्काए

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ २ गते । झापाका विभिन्न पालिकामा केही महिना अघिदेखि हात्तीले उपद्रो मच्चाउँदै आएका छन् । यसै क्रममा कचनकवलमा फेरि जङ्गली हात्तीको समूहले दुई वटा घर भत्काएको छ । 

लगातार जनधनको क्षति गर्दैआएको जङ्गली हात्तीले आइतवार राति कचनकवल ३ दल्कीमा दुईवटा घर भत्काएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार एक महिनाको अवधिमा कचनकवलमा मात्र २२ वटा घर हात्तीले भत्काएका छन् । 

स्थानीय दुर्गाभिट्टा सामुदायिक वनबाट आएको जङ्गली हात्तीको समूहले धुला राजवंशीको टिनको छानो भएको भुइँतले घर र रणबहादुर लिम्बूको टिनको छानो भएको घर भत्काएको हो । लिम्बुले वर्षभरि खानका लागि भकारीमा राखेको करिब ३० मन धान पनि हात्तीले खाएको बताइएको छ ।

यसैगरी हात्तीको समूहले डम्बर खड्काको खेतको खमारमा राखिएको धान पनि खाएको छ । स्थानीयको खेतबारीमा लगाएको बालीनाली नष्ट गरेको र स्थानीहरु रातभर जाग्राम बस्ने अवस्था आएको उपाध्यक्ष भट्टराईले बताउनुभयो ।