• १३ साउन २०८१, आइतबार

युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास

blog

कीभ, माघ २ गते । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष  ४.२ बिलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनः एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।

विशेष गरी, संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ अर्ब डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो । 

रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ अर्ब डलर जुटाउने पनि विश्व निकायको लक्ष्य रहेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा कीभले उच्च आशा राखेको बताउनुभएको छ । 

उहाँले आन्तरिक रूपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताउनुभएको छ । 

सन्  २०२२ को फेब्रुवरीदेखि करिब ६३  लाख मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४९  लाख मानिस विस्थापित भएका छन् । रासस/सिन्ह्वा