अमृतप्रसाद पौडेल
म्याग्दी, माघ १ गते । बुद्धिबहादुर विकले पुख्र्यौली आरनको पेसा अँगालेर परिवार पाल्नुका साथै चार जनालाई रोजगारी दिनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीका उहाँले बेनीमा आरन सञ्चालन गर्दै आउनुभएको छ । चिसो सिरेटोमा कालीगण्डकी नदी किनारमा रहेको बुद्धिको आरनमा बिहानैदेखि तामा, फलाम तथा सिल्टेका भाँडा बर्तनलाई आकार दिन ह्याम्बरले कुट्दा आउने ट्वाङट्वाङको आवाज मिठो सङ्गीतको धुनजस्तै सुनिन्छ ।
म्याग्दी र पर्वत जोड्ने कालीगण्डकी नदीको पुल तर्नासाथ सडकभन्दा अलिक माथि भित्तामा भएको सानो छाप्रोमा बुद्धिसँगै उहाँकी श्रीमती दिलकुमारीले पनि तामाका गाग्रीलाई आकार दिने काम गर्नुहुन्छ । उहाँहरू श्रीमान् श्रीमतीसँगै थप दुई जनाले रोजगारी पाएका छन् । कामको चाप र काम गर्ने सम्बन्धित व्यक्तिको क्षमताका आधारमा सात÷आठ सय रुपियाँ दैनिक ज्यालादारीमा दुई जनाले काम गर्ने गरेको उहाँको भनाइ छ ।
उहाँले कतिपय पेसामा मजदुर अभावले समस्या हुने गरे पनि आफूलाई भने समस्या नपरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “म आफँै पनि काम गर्छु, अनि मेरी श्रीमतीले पनि गर्ने, थप आवश्यक पर्दा अरू पनि सम्पर्कमा छन् । त्यसैले मलाई ‘अर्डर’ को सामान तयार गर्न कामदार अभाव कहिल्यै भएन ।”
चार सन्तानका बाबुआमा बुद्धि र दिलकुमारी पुख्र्यौली पेसामै भविष्य देखेर यता लागेको बताउनुहुन्छ । आफूहरू तीन भाइमध्ये माइलो सन्तान बुद्धिले आफ्नो बाबुबाजेले गर्दै आएको तामा, फलाम, सिल्टेलगायतका धातुका सामान बनाउने पेसा नै अँगाल्नुभएको छ ।
उहाँका दाजु र भाइ भने वैदेशिक रोजगारीमा हुनुहुन्छ । बुद्धिका आफ्नै चार सन्तानमध्ये दुई जना अहिले बेनीको निजी विद्यालयमा पढ्दै छन् भने दुई छोरा कक्षा १२ उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीमा गएका छन् । आफू भने यही पेसामै सम्भव छ भनेर दिनरात मेहनत गर्दै आएको उहाँ सुनाउनुहुन्छ ।
एउटा तीन केजी तौल भएको तामाको गाग्रीको मूल्य नौ हजार पर्ने बुद्धिले बताउनुभयो । एउटा गाग्री बनाउन दिनभर मेहनत गर्नु पर्छ र प्रतिकेजी दुई हजार हाराहारीका दरले तीन केजी तामाको मूल्य सरदर छ हजार रुपियाँ पर्ने उहाँको भनाइ छ । सरदरमा आठ हजारभन्दा माथि मूल्य पर्ने सामानमा झन्डै दुईदेखि तीन हजार रुपियाँ श्रमको मूल्य जोडिने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “एउटा गाग्रीमा छ हजारको सामान हुन्छ भने दुई हजारदेखि तीन हजार रुपियाँको श्रम जोडिन्छ ।”
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले पुरानो र सङ्कटमा परेको पेसा भए पनि उत्पादित सामग्रीलाई बजार अभाव नहुने बताउनुभयो । उहाँले थप्नुभयो, “बुद्धिले उत्पादन गरेका सामग्रीले बजार नपाएको भन्ने मैले कहिल्यै सुनेको छैन, बरु सामान पु¥याउन नसकेको भन्ने सुन्छु ।