• १३ साउन २०८१, आइतबार

तातोपानी कुण्ड जान काठेसाँघुको सहारा

blog

कालिगण्डकी नदीमा निर्माण गरिएको काठको अस्थायी पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार तातोपानी कुण्डमा जान कालिगण्डकी नदीमा काठेसाँघु निर्माण गरिएको छ । झोलुङ्गे पुल नहुँदा हिउँदका समयमा कुण्डमा जाने बिरामी र पर्यटक जोखिम मोलेर काठको पुलबाट नदी वारपार गर्दै आउनुभएको छ ।  

हिउँदका ६ महिना मात्र प्रयोगमा आउने सो पुल निर्माण गर्न तातोपानी कुण्डका सञ्चालक डेमबहादुर तिलिजा पुनले एकलाख रुपियाँ बराबर खर्च गरेर एक महिनाको अवधिमा काठेसाँघु तयार पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कुण्डमा आउने करिब ४५ मिनेट घुमाउरो बाटो प्रयोग गर्नुपर्छ । काठेसाँघुको प्रयोग गरेर बेनी –जोमसोम–कोरला सडकबाट ५ मिनेटमै कुण्डमा आउन सकिन्छ । कुण्डमा स्नान गर्न आउने बिरामी र पर्यटकलाई यसले सहज बनाएको छ ।’’

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीदेखि पारी पाउद्वारको पुछारमा रहेको तातोपानी कुण्डमा स्नान गर्न जाने पर्यटक र बिरामीको सुविधाका लागि व्यक्तिगत रूपमा श्रम र रकम खर्चिएर काठको अस्थायी पुल निर्माण गरेको तिलिजा पुनले बताउनुभयो । 

पुलमा काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरिएको छ । पुलको दायाँबायाँ काठकै रेलिङ हालिएको छ । पक्की झोलुङ्गे पुल नहुँदा वर्षौँदेखि यहाँ काठको पुल निर्माण गरिँदै आएको छ । 

तातोपानी कुण्डजाने बिरामी, पर्यटक र कुण्ड आसपासका सर्वसाधारणलाई कालिगण्डकी नदी वारपार गर्न सहज होस् भनेर काठको पुल निर्माण गरेको तिलिजाले बताउनुभयो । कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र बिरामीहरू नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने भएकाले केही महिनाका लागि भए पनि सहज बनाउन काठको अस्थायी पुल निर्माण गरेको उहाँको भनाइ छ । 

पाउद्वार तातोपानी कुण्डलाई गाउँपालिकाले वार्षिक रूपमा २३ लाख रुपियाँमा ठेक्का लगाएको छ । सिजनका समयमा दैनिक कुण्ड स्नान गर्ने बिरामी र पर्यटकको भिड लाग्ने गर्दछ । 

यता, पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा झोलुङ्गे पुल बनाउन चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सकारले बजेट विनियोजन भएको र यही वर्षभित्र झोलुङ्गे पुल निर्माण हुने जनाएको छ ।