• २१ असार २०८१, शुक्रबार

जुम्ला–डोल्पा सडक निर्माण तीव्र गतिमा

blog

नेत्र शाही 

जुम्ला, पुस २९ गते । मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सड्क अन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडकखण्ड निर्माण तीव्र पारिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर भइरहेको छ ।

सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्र विष्टका अनुसार जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर रहेको छ । छिनासाँघुदेखि दानसाँघु ३.५ किमीसम्म कास्यप निर्माण सेवाले निर्माण कामको जिम्मा लिएको छ । 

यसै गरी दानसाँघुदेखि झारज्वाला ३.५ किमीसम्म थोदुङ कन्स्ट्रक्सन, बाबिखोलादेखि मौरे लेखसम्म अर्घाखाची–महेश जेभीले काम गरिरहेको छ । यस क्षेत्रमा अर्को निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । 

आर्थिक दायित्व बढी  

डिभिजन कार्यालयका अनुसार ४३ किलोमिटर सडक क्षेत्रको विभिन्न स्थानमा ठेक्का गर्नका लागि २३ करोड ५३ लाख रुपियाँ सम्झौता भएको छ । हालसम्म आठ करोड ५२ लाख रुपियाँ मात्र भुक्तानी भएको तर अन्य रकम केन्द्रबाट नआएपछि समस्या भएको छ ।

कार्यालयमा काम सम्पन्न गरेको बिल आएका छन् तर रकम अभावले भुक्तानी गर्न कठिन भएको कार्यालयले जनाएको छ । सूचना अधिकारी चित्र चौलागाइकाे अनुसार काम सम्पन्न गरिसकेको क्षेत्रमा समेत रकम अभावले भुक्तानी गर्न सकिएको छैन । 

जुम्ला–डोल्पा सडकमा चार स्थानमा पक्की पुल निर्माण गर्ने डिपिआर निर्माण भए पनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् । कच्ची सडक खनेपछि भने त्यस क्षेत्रमा मालवाहक ट्याक्टर तथा साना सवारी गुडिरहेको उहाँले जानकारी दिनुभयो । 

प्रदेशबाट १४.५ किमी ग्राभेल 

यसै गरी जुम्ला–डोल्पा सडक क्षेत्रको झारज्वालादेखि गुठीचौरसम्मको १४.५ किलोमिटर पूर्वाधार विकास कार्यालयले काम गरिरहेको छ । 

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको बजेट तथा योजना कार्यक्रम अन्तर्गत सो क्षेत्रमा ग्राभेल सडक निर्माणको काम भइरहेको हो ।

निधार पुल झारज्वालादेखि गुठीचौर लाग्नासम्म पूर्वाधार विकास कार्यालयले काम गरिरहेको छ । उहाँका अनुसार जुम्ला–चोत्र–काइगाउँ डोल्पा सडक नामकरण गरिएको उक्त सडकमा वल्र्ड वाइड सुनकोशी जेभी निर्माण व्यवसायी कम्पनीबाट ठेक्काको काम भइरहेको छ ।

त्यस क्षेत्रमा ग्राभेल, प्लम स्ट्रक्चर, ग्याबिन स्ट्रक्चर र चौडा गर्ने काम भइरहेको छ । सो कार्यका लागि  १७ करोड रुपियाँ बजेटमा सम्झौता भएको र चार करोड ५० लाख रुपियाँ भुक्तानी गरिसकेको सूचना अधिकारी टेकबहादुर हितानले जानकारी दिनुभयो ।