• २१ असार २०८१, शुक्रबार

मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा

blog

दोलखा समाचारदाता

दोलखा, पुस २९ गते । सङ्घीय पर्यटन विकास साझेदारी कार्यव्रmम अनुसार पर्यटकलाई शैलुङ जान सहजताका लागि निर्माण सुरु गरिएको मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा पुगेको छ । सरकार र पालिकाको ७० र ३० प्रतिशत साझेदारीमा पाँच करोड ३० लाख रुपियाँ लागतमा बेस क्याम्प कालापानीदेखि केही माथिबाट भएको निर्माण मिनी ग्रेटवालको ९८ प्रतिशत काम सम्पन्न भएको पालिकाका इन्जिनियर कमलबहादुर थापामगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्मित संरचनाको फिनिसिङ र बत्ती जडानको मात्र काम बाँकी रहेको छ । यो काम पनि चाँडै सम्पन्न गर्न लागिएको छ । पर्यटकलाई आवतजावत गर्न निकै सहज भएको छ । यो निर्माण नहुँदा हिउँ तथा तुसारो परेपछि आवतजावतमा निकै समस्या थियो । उहाँले भन्नुभयो, “कालापानीदेखि शैलुङसम्म ७७० मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार निर्माण भएको छ । हेर्न लायक पनि बनेको छ । पर्यटन प्रवर्धनमा कोसेढुङ्गा साबित हुने अपेक्षा राखिएको छ । पर्यटकका लागि बेस क्याम्प कालापानीमा खाने बस्ने व्यवस्था भइसकेको छ ।”