• २१ असार २०८१, शुक्रबार

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

blog

हेटौँडा ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनको निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, पुस २८ गते। राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्तिम नामावली सूचीमा रहेकालाई निर्वाचन कार्यक्रम अनुसार शनिबार चुनाव चिह्न प्रदान गरेको हो। 

प्रदेश निर्वाचन कार्यालय बागमतीका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको जानकारी दिनुभयो। 

निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले छ वटा राजनीतिक दलका गरी राष्ट्रिय सभा सदस्यका १५ उम्मेदवारको उम्मेदवारी कायम गरेको छ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमध्ये बागमती प्रदेशमा महिला, अल्पसङ्ख्यक÷अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाका लागि निर्वाचन हुँदैछ।

सत्ता गठबन्धनले भागबण्डा गरी नेपाली कांग्रेसबाट, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक एक जना उम्मेदवार बनाएका छन्। यसैगरी नेकपा एमालेबाट चारै क्षेत्रबाट चार जना, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन जना र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट चार जना उम्मेदवार रहनुभएको छ।

आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै छ। बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार पाँच हजार ३८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार ५०३ गरी जम्मा १० हजार ३३३ मतभार कायम भएको निर्वाचन आयोगले जनाएको छ।