• ६ जेठ २०८१, आइतबार

आर्मीका कार्कीलाई अल्ट्रा म्याराथन उपाधि

blog

प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार प्रदान गरिँदै ।

अमरराज नहर्की

तनहुँ, पुस २८ गते । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबमा कार्यरत शङ्खुवासभाका २३ वर्षिय गोविन्द कार्कीले जित्नु भएको छ ।

धारुङभञ्ज्याङ देखि दुबुङकोट भ्यू टावरसम्मको ४३ किलोमिटर दुरी ३२ धावकलाई पछि पार्दै तीन घण्टा ६ मिनेट ३३ सेकेण्डमा पुरा गरेर आर्मीका सिपाही कार्की प्रथम हुनु भएको हो ।  त्यसैगरी दोस्रो  र तृतीय स्थान पनि त्रिभुवन आर्मी क्लबकै हात पारेको छ । क्लबमा प्युठ पदमा कार्यरत २७ वर्षिय गोपाल तामाङ्ग द्वितीय र  २७ वर्षकै तिलक सुनुवारले तृतीय स्थान हासिल गर्नुभयो । उहाँहरु दुवैजना रामेछाप निवासी हुनुहुन्छ ।

उहाँहरुले क्रमश: तीन घण्टा सात मिनेट ३३ सेकेण्डमा र तीन घण्टा दश मिनेटमा उक्त दूरी पार गरेको रेश डाईरेक्टर रमेश भट्टचनले जानकारी दिनुभयो  । भट्टचनका अनुसार  त्यसैगरी करम रावलले तीन घण्टा १२ मिनेट १४ सेकेण्ड,मोहनदेव जोशीले तीन घण्टा १६ मिनेट ८ सेकेण्ड, जुनेस खड्काले तीन घण्टा १६ मिनेट २२ सेकेण्ड र निरोज भट्टले तीन घण्टा २१ मिनेट २७ सेकेण्डमा दूरी पार गरी सान्तवना स्थान प्राप्त गर्नु भएको छ ।

“ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार“ भन्ने मूल नाराका साथ खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अल्ट्रा म्याराथनको आयोजना गरिएको हो । विजयी धावकहरुलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

धारुङ भञ्ज्याङ (ऋषिङ प्रवेशद्वार) देखि दौड सुरु भई रानीपोखरी, पुरानथोक,अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर टुङ्गिएको थियो ।