• २१ असार २०८१, शुक्रबार

करातेमा बागमती टिम च्याम्पियन

blog

उपाधि विजेता बागमतीका खेलाडी ।

काठमाडौँ, पु्स २८ गते । बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो ।

नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कांस्यसहित कोशी प्रदेश दोश्रो भयो । तेश्रो स्थानको मधेश प्रदेशले १ स्वर्ण र ५ कांस्य जित्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ७ हजार रुपियाँ पुरस्कार हात पारे ।

बसुन्धरास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुषमा बागमतीका डेविडकुमार श्रेष्ठ र महिलामा कोशीकी सन्जिता लेप्चा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवैले जनही ३ हजार पुरस्कार पाउनुभयो । प्रतियोगिताको अन्तिम दिन ६ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा सबै स्वर्ण बागमती प्रदेशका खेलाडीले जिते ।

पुरुष ५५ केजीमा डेविडकुमार श्रेष्ठ, ६० केजीमा सुविन्द्र घिसिङ, ६५ केजीमाथि पासाङ ग्याल्जेन र ५० केजीमा समिर घलानले स्वर्ण जित्नुभयो । महिला ५५ केजीमा दिया पहरी तथा ६० केजीमाथि टीकामाया जिमीले पहिलो स्थान हात पारे । प्रतियोगितामा समावेश बाह्रै स्पर्धाका पदक विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।