• २१ असार २०८१, शुक्रबार

चीनको कोइला खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु

blog

बेइजिङ, पुस २८ गते । चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् ।

दुर्घटना कोइलाखानीमा ग्यास विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सिसिटिभीले जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको छ ।

खानीको जिम्मा लिनेहरूलाई अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वाले जनाएको छ । चीनमा खानी सुरक्षा पछिल्लो दशकहरूमा सुधार भएको बताउने गरिएको छ ।

यद्यपि, कमजोर सुरक्षा व्यवस्थाका कारण उद्योगमा दुर्घटनाहरू अझै भइरहन्छन् । आधिकारिक तथ्याङ्क अनुसार २०२२ मा १६८ दुर्घटनामा २४५ जनाको मृत्यु भएको थियो ।

गत महिना उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागमा भएको खानी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

नोभेम्बरमा सोही प्रान्तको अर्को कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यसैगरी, सेप्टेम्बरमा, दक्षिणपश्चिम चीनको कुइझोउ प्रान्तमा कोइला खानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो । रासस/एएफपी