• २१ असार २०८१, शुक्रबार

ताप्लेजुङको दुर्गम भेगमा शैक्षिक सुधारमा प्रगति

blog

शिक्षक विकास तालिमका सहभागी शिक्षकलगायत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २८ गते ।
 ताप्लेजुङको दुर्गम भेगमा शैक्षिक सुधार हुँदै गएको पाइएको छ । दुर्गम भेगको शैक्षिक गतिविधिमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सहयोग गर्न थालेपछि तुलनात्मक रूपमा शैक्षिक सुधारमा प्रगति हुँदै गएको पाइएको हो ।

जिल्लाको हिमाली दुर्गम भेगअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा आफ्नो कार्यक्षेत्र बनाएर रिड नेपालले विगत डेढ दशकदेखि शैक्षिक गतिविधिमा सहयोग गर्दै आएको छ । रिड नेपालले सहयोग गर्न थालेपछि यस क्षेत्रको शैक्षिक सुधारमा प्रगति हुँदै गएको हो । भौतिक पूर्वाधार, शिक्षक क्षमता अभिवृद्धि तालिम तथा विद्यार्थीलाई छात्रवृतिसहित अनुशासन कायम गर्न र गुणस्तरीय सिकाइका लागि रिड नेपालले सहयोग गरिरहेको छ ।

रिड नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र पन्तले दुर्गम क्षेत्रको शैक्षिक विकासमा टेवा पुर्‍याउने संस्थाको उद्देश्यअनुसार निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार रिड नेपालले विद्यालय शिक्षा सुधारमा केन्द्रित क्रियाकलाप गर्दै आएको छ । शैक्षिक सुधार केन्द्रित क्रियाकलापअन्तर्गत विद्यालय संरचना निर्माणदेखि शिक्षकलाई तालिम र विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि छात्रवृत्ति वितरण लगायतका काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार हालसम्म रिड नेपालको कार्य क्षेत्रभित्र रहेका ३५ वटा सामुदायिक विद्यालयमा शैक्षिक सुधारका गतिविधि हुँदै आएका छन् । शैक्षिक गतिविधिअन्तर्गत रिड नेपालले एक बर्थिङ सेन्टर (प्रसूति केन्द्र) र १० विद्यालयका गरी ११ वटा भवन निर्माण गरिदिएको छ । यस्तै ३५ वटै विद्यालयमा फर्निचर व्यवस्थापनमा सहयोग, १८ वटा विद्यालयमा खानेपानीका धारा र १५ वटा विद्यालयमा शौचालय निर्माण भएको छ ।

विद्यार्थीको गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउन रिड नेपालले विद्यालय पोसाक, झोला, टिफिन बक्स (खाजा राख्ने भाँडा) वितरण गरिरहेको छ । त्यस्तै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय र उच्च शिक्षा अध्ययनका लागि छात्रवृतिसमेत उपलब्ध गराउँदै आएको रिड नेपालले जानकारी दिएको छ । संस्थाले काम गर्न सुरु गरेयता हालसम्म छात्रवृतिमा ७० लाख रुपियाँ रकम खर्च भइसकेको कार्यक्रम संयोजक पन्तले जानकारी दिनुभयो ।

यस्तै, शिक्षकको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिमहरू प्रदान गर्दै आएको रिड नेपालकी शिक्षा शाखा अधिकृत रोमाकुमारी माबोले बताउनुभयो । शिक्षकलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित तालिम साथै दुई चरणमा शिक्षक पेसागत विकास तालिम पनि प्रदान गरिसकिएको उहाँले जानकारी दिनुभयो । रिड नेपालले शिक्षकहरूलाई शिक्षक पेसागत विकाससम्बन्धी दोस्रो चरणको १० दिने तालिम गत साताको मङ्गलबारदेखि पछिल्लो साताको शुक्रबारसम्म प्रदान गरेको छ ।

उहाँकाअनुसार पाठ्यक्रम प्रबोधिकरण तथा प्रश्नपत्र निर्माण लगायतमा केन्द्रित शिक्षक पेसागत विकास तालिम भने शिक्षा तालिम केन्द्र इनरुवाको समन्वय प्रदान गरिएको हो । उहाँले शिक्षा प्रवर्द्धन साथै विकासमा टेवा पुर्‍याउने रिड नेपालले प्रदान गरेको तालिमले शिक्षकको सीप तथा क्षमतामा विकास भएको बताउनुभयो । त्यस्तै बालमैत्री शिक्षण सिकाइ, विद्यार्थीको अनुशासन दायरा स्थापित गर्नमा पनि रिड नेपालको कार्यक्रमले ठुलो सहयोग पुर्‍याएको उहाँको भनाइ छ ।

यता विद्यालय सञ्चालनमा रिड नेपालको सहयोग हुन थालेपछि शैक्षिक सुधारमा उल्लेखनीय प्रगति भएको गणेश माध्यमिक विद्यालय खेबाङका प्रधानाध्यापक रामकुमार लिम्बूले बताउनुभयो । उहाँले विद्यालय संरचना तथा वातावरण निर्माण, शिक्षकको क्षमता विकास र विद्यार्थीको अनुशासन साथै नतिजामा पनि तुलनात्मक रूपमा सुधार भइरहेको बताउनुभयो । यस्तै फक्ताङ्लुङ आधारभूत विद्यालयकी शिक्षक अमृता थलङले रिड नेपालको सहयोग पाएपछि शैक्षिक सुधारमा धेरै प्रगति भएको बताउनुभयो ।

रिड नेपालले उपलब्ध गराएको तालिमको सहयोगले आधारभूत तह कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एक ठाउँमा राखेर पढाउन सकिने अवस्थाको सिर्जना भएकोसमेत थलङले बताउनुभयो । उहाँका अनुसार बालबालिका तथा विद्यार्थीलाई पढाइतर्फ आकर्षित गर्ने खालको संस्थाले क्रियाकलाप गरेपछि विद्यार्थीको विद्यालय उपस्थितिमा पनि नियमित गराएको छ । लक्ष्मी माध्यमिक विद्यालय मामाङ्खेका शिक्षक राजेन्द्र भट्टराईले पनि रिड नेपालको सहयोग रहेको र नरहेको विद्यालयमा धेरै फरक पाएको बताउनुभयो । नतिजासँगै बालमैत्री संरचना, विद्यालय वातावरण लगायतमा तुलनात्मक रूपमा आफूले फरक पाएको उहाँले बताउनुभयो ।

रिड नेपालले हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा यहाँको दुर्गम तथा हिमाली क्षेत्रको शैक्षिक प्रवर्द्धन गर्न आफ्नो क्रियाकलापहरू गरिरहेको छ । शैक्षिक प्रवर्द्धनको क्रियाकलाप गर्न सुरु गरेपछि अर्थात् डेढ दशकको अवधिमा यस क्षेत्रमा कर्मचारीको तलब सुविधाबाहेक ३७ करोड रुपियाँ खर्च भइसकेको रिड नेपालका वित्त प्रमुख तेजप्रकाश उपाध्यायले जानकारी दिनुभयो । उहाँकाअनुसार शैक्षिक प्रवर्द्धन र विकासका गतिविधिमा संस्थाले वार्षिक तीन करोड रुपियाँ खर्च गर्दै आएको छ ।