युक्रेन, पुस २८ गते । संयुक्त राष्ट्रसङ्घको हेलिकोप्टरलाई सोमालियामा आपत्कालीन अवतरण गराइएपछि अल–शबाब लडाकु समूहले नियन्त्रणमा लिएका बन्धकमध्ये चार जना युक्रेनी रहेको कीएभले शुक्रबार पुष्टि गरेको छ ।
युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेह निकोलेन्कोले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, “उक्त हेलिकोप्टर युक्रेनी निजी कम्पनीको हो र संयुक्त राष्ट्रसङ्घले सामान ढुवानीका लागि सञ्चालन गरिरहेको थियो ।”
गाल्मुदुग राज्यको राजधानी धुसामारेबबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको सो हेलिकोप्टरमा नौ जना सवार रहेको एएफपीलाई आन्तरिकरूपमा उपलब्ध संयुक्त राष्ट्रसङ्घको ज्ञापनपत्रमा उल्लेख छ । दुर्घटना स्थल इस्लामिक लडाकुहरूद्वारा नियन्त्रणमा रहेको क्षेत्र हो ।
निकोलेन्कोले लेख्नुभएको छ, “युक्रेनको विदेश मन्त्रालयले सोमालियाली भू–भागमा सरकार विरोधी फौजको नियन्त्रणमा रहेका चार जना युक्रेनी नागरिकलाई पक्राउ गरेको पुष्टि गरेको छ ।
“सोमालियास्थित संयुक्त राष्ट्रसङ्घीय मिसनको हेलिकप्टर चालक दलका सदस्य हाम्रा नागरिक थिए,” उहाँले भन्नुभयो । विमानमा पाँच जना ‘विदेशी’ पनि रहेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको विज्ञप्तिमा यात्रुलाई बन्दी बनाइएको, एक जनाको मृत्यु भएको र दुई जना भागेको उल्लेख गरिएको छ ।
अल–शबाबले १६ वर्षदेखि सङ्घीय सोमाली सरकारविरुद्ध लड्दै आएको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त छ । अमेरिकाले सन् २००८ देखि नै उनीहरूलाई आतङ्कवादी समूहको रूपमा मान्यता दिँदै आएको छ ।
मुख्य जनसङ्ख्या केन्द्रहरूबाट निष्कासित भएपनि तिनीहरू केन्द्र र देशको दक्षिणको विशाल ग्रामीण क्षेत्रहरूमा भूमिगत रूपमा बसी राजनीतिक र हिंसात्मक गतिविधि सञ्चालन गर्छन् । रासस/एएफपी