• ४ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री कप : मधेश प्रदेशको विजयी सुरुवात

blog

मधेशका अनिल कुमार शाह । तस्बिर : क्यान

काठमाडौँ, पुस २८ गते । मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेशले कोशी प्रदेशलाई सात विकेटले हरायो । 

जितको लागि एक सय २८ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले २०.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । मधेशको जितमा केटकिपर अनिल कुमार शाहले उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

शाहले ५४ बलमा १४ चौका र तीन छक्कासहित ८८ रन बनाउनुभयो । हरिशंकर शाहले २४ र नीरज यादवले नौ रन जोड्नुभयो । बलिङमा कोशीका सोनु मण्डलले दुक्ष तथा र सुजन थपलियाले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशी ४१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।कोशीका लागि फिर्दोस अन्सारीले ४१ र ओपनर तथा कप्तान अङ्कित सुवेदीले ४० रन बनाउनुभयो । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कोशीलाई सस्तैमा समेट्न बलिङमा मधेशका प्रदीप पासपानले तीन विकेट लिनुभयो। पवन सरार्फ, राजेश यादव र रञ्जित कुमारले दुई दुई विकेट झार्नुभयो ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोलीको सहभागिता रहेको छ । शनिबारनै त्रिवि मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा सिद्धार्थनगर भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा भएको छ । 

सबै टोलीले राउन्ड रोविन लिगमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । प्रतियोगिताको शीर्ष चारमा रहने टोलीबिच आगामी चैत र वैशाखमा एलिट ट्रफी खेलाउने क्यानले जनाएको छ ।