काठमाडौँ, पुस २८ गते । १६औँ ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा आठ टोलीको सहभागिता रहने भएको छ । आयोजक ढोरपाटन क्लबले शनिबार पत्रकार सम्मेलन गरी लिगमा आठ टोलीको सहभागिता रहने जानकारी दिएको हो ।
नयाँ बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा माघ १२ देखि २२ गतेसम्म हुने लिगमा विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबसहित न्यु डायमन्ड क्लब, एन्जलहार्ट, जावलाखेल यूथ क्लब, धादिङ स्पोर्ट्स क्लब तथा परोपकार स्कुल वा काठमाडौँ जिल्ला भलिबल सङ्घको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख १ हजार, उपविजेताले दुई लाख ५० हजार, तेस्रोले एक लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौँले ५० हजार र छैटौँ टोलीले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लिगलाई होङवाङ्जीले मुख्य प्रायोजन गर्ने भएको छ ।