• २ जेठ २०८२, शुक्रबार

जनताको माग अनुसार रेलमार्गको विकल्प खोज्न सरकार तयार छ : मन्त्री ज्वाला

blog

भरतपुर विमान स्थलमा मन्त्री प्रकाश ज्वालालाइ स्वागत गरिँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 

नारायणगढ, पुस २८ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्व पश्चिम विद्युतीय रेलमार्गको रेखाङ्कनका क्रममा सर्वसाधारण जनताले उठाएका समस्याको सम्बोधन हुने बताउनुभएको छ । चितवनमा शनिबार हुने विभिन्न कार्यक्रमहरूमा भाग लिन आउनुभएका मन्त्री ज्वालाले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै जनताकै माग अनुसार रेलमार्गको विकल्प खोज्न पनि सरकार तयार रहेको स्पष्ट पार्नुभयो । 

“रेलमार्गको सिमाङ्कनकाको काम भइरहेको छ । यो पहिलैदेखि सुरु भएको काम हो । सर्भेका क्रममा चितवन आउँदा भरतपुरका जनप्रतिनिधि र सर्वसाधारण जनताले सिमाङ्कनका विषयमा असन्तुष्टि जनाउनुभएको कुरा मन्त्रालयमा गएरै ध्यानाकर्षण गराउनुभएको छ । त्यसमा हामी छलफल र अध्ययन गर्दै छौ”, उहाँले भन्नुभयो । 

मन्त्री ज्वालाले जनताका असन्तुष्टि एवम् गुनासाहरू सरकारले सुन्नुपर्ने धारणा पनि राख्नुभयो । “छलफल अनुसन्धान र अध्ययनबाट एउटा निष्कर्ष निकाल्ने छौँ । यथार्थ अवस्था, जनताको भनाइ के हो बुझेर नै नयाँ निर्णय लिने छौँ”, उहाँको स्पष्ट भनाइ छ । उहाँले जनताको विरोध आएपछि नयाँ निर्णय नभएसम्मका लागि अहिले सिमाङ्कनको काम नै रोकिएको जानकारी दिनुभयो । 

“आवाज उठेपछि विरोध भरसकेपछि त्यो विषयमा अहिले काम नगर्ने भनेर रेङ्कनकै काम रोकिएको अवस्था छ”, उहाँले भन्नुभयो । उहाँले अहिले सिमाङ्कन भएको विकल्पहरूका पनि छलफल हुन सक्ने धारणा राख्नुभयो । 

“सरकार उपयुक्त विकल्पको खोजीमा छ । यसमा यहाँका जनप्रतिनिधीहरुको पनि राय सुझाव के आउँछ त्यसैलाई आधार बनाएर अगाडी बढ्ने हो”, उहाँले भन्नुभयो । रेल विभागले सुरु गरेको रेल मार्गको अध्ययनमा निजगढबाट हेटौँडा हुँदै चितवन प्रवेश गर्ने रेलमार्ग पूर्व पश्चिम महेन्द्र राजमार्गभन्दा दक्षिण तर्फबाट अघि बढाएर नारायणी नदी तारेर नवलपरासीको अमरापुरी पुर्‍याउने प्रारम्भिक नक्साङ्कन तयार छ । यसरी रेल मार्ग जाँदा चितवनको भरतपुर महानगरको वडा नम्बर ८, ७, ५ र ४ नम्बर वडा हुँदै जाने देखिन्छ । यही सिमाङ्कनको विषयमा चितवनमा सङ्घर्ष समिति नै बनाएर विरोधका कार्यक्रम गर्न थालिएपछि सरकारले यसको विकल्पको लागि तत्परता देखाएको हो । 

यस्तै अहिले बजेट अभावकै करण देशभरिकै ठुला सडक निर्माणको काममा समस्या परेको पनि उहाँले जनाउनुभयो । “बजेटमै हाम्रो मन्त्रालयको सिलिङ्ग ३७ अर्ब रुपियाँले घटेको छ । यसले समग्र निर्माण कार्यमा समस्या त पर्ने नै भयो”, उहाँले भन्नुभयो । अहिले कतिपय स्थानका आयोजनाहरूमा बजेटसँगै राइटअफ वेको समस्या पनि देखिएको उहाँले जनाउनुभयो । 

“आइलागेका समस्या पहिचान गर्ने छलफल गर्ने र अर्थ मन्त्रालयसँग बजेट माग गरेर समाधान गर्ने गरी अघि बढेका छौँ” उहाँले भन्नुभयो ।  

नारायणगढ बुटवल, नारायणगढ मुग्लिङ, नारायणगढ गोन्द्राङमा रहेका सडक तथा पुलका निर्माणको कामहरू तीव्र रूपमा अगाडी बढेको र यसले छिट्टै निर्माण सम्पन्न हुने दाबी पनि उहाँले गर्नुभयो । 

“नारायणगढ मुग्लिङ सडकको काम सकियो । केही समस्या मर्मत सुधारबाट पनि समाधान हुने छ । पुलहरूको समस्या पनि समाधान भएको छ । केही दिन अघि केही पुलह रु सञ्चालनमा ल्याएका छौँ । एउटा पुलको काम अहिले भई रहेको छ अब छिट्टै नारायणगढ मुग्लिङ सडक सहज हुने छ । नारायणगढ बुटवल सडकको काम तीव्रता आएको छ । क्रोनिक रूपमा रहेका समस्या ग्रस्त रूपमा रहेका आयोजनालाई समस्या समाधान गर्दै त्यसको गति दिने काम अहिले भइरहेको छ”, मन्त्री ज्वलाले भन्नुभयो ।