• १४ मंसिर २०८१, शुक्रबार

प्रहरीकै अगाडी नम्बर प्लेट विना एक्स्काभेटर सञ्चालन

blog

नम्बर प्लेट विना नै प्रयोग भएका एक्स्काभेटर । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, पुस २८ गते । जिल्लाको तिनाउमा नम्बर प्लेटविनाका एक्स्काभेटर सञ्चालन भएको पाइएको छ । नम्बर प्लेट नराखेका सवारीसाधन चलाउन नपाइने भए पनि तिनाउमा भने एक्स्काभेटरहरू नम्बर प्लेटविनै ढुङ्गा, बालुवा, गिट्टी र माटो उत्खननमा प्रयोग भएका हुन् । 

नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग गर्न नम्बर प्लेटविनाका एक्स्काभेटर प्रयोग भएको हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन् । पछिल्लो समय नदीजन्य पदार्थ चोरी कार्यमा संलग्न सवारीसाधनको फोटो र भिडियो खिचेर पालिकामा कारबाहीका लागि पठाउन थालेपछि नम्बर प्लेट हटाइएका एक्स्काभेटर प्रयोग बढेको छ ।  

नदीजन्य पदार्थ चोरीमा संलग्नले राति र दिनको समयमा पनि नम्बर प्लेट नराखेका एक्स्काभेटर प्रयोग गरेका छन् । कुनै पनि सवारीसाधनको अगाडि र पछाडिको भागमा नम्बर प्लेट देखिने गरी राख्नुपर्छ । 

अवैध कार्यमा मात्र होइन गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित सरकारी योजनाको काममा समेत नम्बर प्लेटविनाका एक्स्काभेटर प्रयोगमा आएका हुन् । पालिका र प्रदेश सरकारको लगानी भएका योजनमा समेत नम्बर प्लेटविनाका एक्स्काभेटर प्रयोग भएको जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले बताउनुभयो । 

तिनाउको बगाहा, कुर्वानखोला, झुम्साखोला, गोरबन्दीघाट, झुम्सा क्षेत्रमा चलेका एक्स्काभेटरमा नम्बर नदेखिएको हो । एक दिनभित्र तीन वटा वडामा गरिएको अनुगमनमा नम्बर प्लेटविनाका आठ वटा एक्स्काभेटरलाई गह्रा सुधार, पुल निर्माण, नाली निर्माणका काममा लगाइएको पाइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईँले नम्बर प्लेट नभएका पाँच वटा एक्स्काभेटरलाई कारबाही गरिएको बताउनुभयो । अन्य स्थानमा पनि नम्बर प्लेट नभएका एक्स्काभेटर चलेको भए कारबाही हुने उहाँले बताउनुभयो ।