हुम्ला समाचारदाता
हुम्ला, पुस २८ गते । हुम्लाका अधिकांश सामुदायिक विद्यालय बन्द गरिएका छन् । वार्षिक परीक्षा सम्पन्न भएको र चिसोका कारण डेढ महिनाका लागि सबै तहका विद्यालय बन्द गरिएका हुन् ।
ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालका अनुसार गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा हिउँदे बिदा गरिएको हो । यस शैक्षिक सत्रको वार्षिक परीक्षा लिएर नतिजा सार्वजनिक गरिएपछि विद्यालय डेढ महिनाका लागि बन्द गरिएका हुन् । चिसो बढी हुने भएका कारण हिमाली जिल्लामा हिउँदे बिदा दिने नियम अनुसार गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार विद्यालय बन्द गरिएको बताइन्छ ।
शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले जिल्लाभरिका १५१ वटा विद्यालय बन्द भएको बताउनुभयो । जिल्लामा १४६ वटा सामुदायिक, एउटा धार्मिक र चार वटा संस्थागत विद्यालय छन् । उहाँले विद्यालय फागुन २ बाट सञ्चालन हुने जानकारी दिनुभयो । एकाइका अनुसार जिल्लाका सात वटा गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ वटा र ताँजाकोटमा १६ वटा विद्यालय छन् ।