गोदावरी समाचारदाता
गोदावरी (कैलाली), पुस २८ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ । सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको सङ्गोष्ठीको आयोजना गरेर यस सम्बन्धमा राय, सल्लाह सुझाव लिएको छ ।
सो गोष्ठीका अध्यक्ष सामाजिक विकासमन्त्री साउदले सरकारले आफ्नै लगानीमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी दिनुभयो ।
गोष्ठीमा प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी कार्य गर्न गठित समितिका संयोजक डा. लवदेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राडा अम्मरराज जोशी र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वविद्यालयबारे विविध स्तुतीकरण गर्नुभएको थियो ।
कार्यव्रmममा सहभागीहरूले प्रदेशमा छुट्टै आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सरकारको धारणाको स्वागत गर्दै नाम मात्रैका लागि स्थापना नहुने गरेर यत्ति ठुलो काममा जिम्मेवार बनेर उभिन पनि सुझाव दिनुभयो ।
प्रदेश सरकारको यस्तो साहसिक कार्यमा तीन तहकै सरकार, निजी क्षेत्रसँगै समाजमा रहेका हरेक नागरिकको आवश्यक सहयोग रहने मोडल अनुसार भए दिगो रहने उहाँहरूको सुझाव थियो ।
तीन सदस्यीय कार्यदल गठन
सरकारले प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी मस्यौदा निर्माणमा सल्लाह सुझाव प्रदान गर्न, विश्वविद्यालयको स्थान यकिन तथा जग्गा प्राप्तिसम्बन्धी कार्यमा मन्त्रालयलाई राय सुझाव दिन र विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि आवश्यकपर्ने अन्य व्यवस्थापकीय कार्यमा मन्त्रालयलाई सहयोग गर्ने सेवासुविधा पाउने गरी डा. लवदेव अवस्थी संयोजक रहने गरेर तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
सो कार्यदलको सदस्यमा संविधान सभा सदस्य एवं अधिवक्ता हरिराम श्रीपाइली र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह रहनुभएको छ ।