• १४ मंसिर २०८१, शुक्रबार

चुरे क्षेत्रमा नदीले धार परिवर्तन गर्दै

blog

रेखीराम राना  

तानसेन, पुस २८ गते । चुरे क्षेत्रका नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न नपाउँदा नदीको धार परिवर्तन हुने क्रम बढेको छ । जिल्लाको तिनाउ गाउँपालिकाभित्रका अधिकांश स्थानबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदी तथा खोलाले धार परिवर्तन गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।  

चुरे क्षेत्रका तिनाउ नदी, झुम्साखोला तथा कञ्चनखोलाबाट नदीजन्य पदार्थ निकासी रोकिँदा गेग्य्रान, ढुङ्गा र बालुवा थुप्रिएर नदीले धार परिवर्तन गरेको स्थानीय बासिन्दाको गुनासो छ । चुरे क्षेत्रमा लामो समयदेखि सरकारले नै नदीजन्य पदार्थ गिट्टी, ढुङ्गा, तथा बालुवा निकासीमा रोक लगाएको हो । 

तिनाउ–३, झुम्साका स्थानीय बासिन्दा टङ्क बस्यालले वर्षौंदेखि नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदीले धार परिवर्तन गरी तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जग्गामा कटान गरेको बताउनुभयो । दोभानका तल्लो भागमा नदीजन्य पदार्थ गेग्य्रान, ढुङ्गा, गिट्टी तथा बालुवा थुप्रिएर खेतीयोग्य जग्गा र बस्ती क्षेत्रमा नदी पसेको उहाँले गुनासो गर्नुभयो । 

यस्तै पुल तथा अन्य भौतिक संरचनालाई समेत असर गरेको छ । तिनाउको दोभान पुल, झुम्साखोला, कचल जाने बाटा तथा झोलुङ्गे पुलमा समेत नदीको सतहमाथि आउँदा भौतिक संरचनामा क्षति पु-याएको गाउँपालिकाले जनाएको छ । 

नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा पालिकाको आन्तरिक आम्दानीमा समेत असर पु-याएको पालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताउनुभयो । आफ्नो पालिकाभित्रको स्रोतसाधनलाई प्रयोग गर्न नपाउँदा जनताले चाहे अनुसारको बजेट तथा योजना दिन नसकेको उहाँले बताउनुभयो । 

पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउको माथिल्लो भागमा अत्यधिक उत्खननका कारण बगेर आउने माटो, ढुङ्गा, गेग्य्रान तथा गिट्टीका कारण तल्ला बस्ती र खेतीयोग्य जग्गामा नदी पस्ने अवस्था बनेको बताउनुभयो । गएको वर्षात्मा नदीले धार परिवर्तन गर्दा बगाहाको एउटा झोलुङ्गे पुलमा असर गरेको छ । तिनाउकै एक परिवारको घर नै बगाएको छ । एउटा पक्की पुल नजिकै गेग्य्रान थुपारेको छ । दोभान खोलाको चार/पाँच स्थानमा खेतीयोग्य जग्गा कटान गरेको पालिकाले जनाएको छ । 

गाउँपालिकाले भने नदीजन्य पदार्थ निकासीको सहमतिका लागि प्रव्रिmया अगाडि बढाएको जनाएको छ । पालिकाका रावस्व शाखाका प्रमुख निरञ्जन लामिछानेले तिनाउको अधिकांश चुरे क्षेत्र पर्ने भएकाले नदीजन्य पदार्थ निकासी गर्न प्रारम्भिक वातावरणीय परीक्षण गरेर राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा सहमतिका लागि पहल गरिने बताउनुभयो । पालिकाभित्रका छ स्थानबाट चुरेको प्राकृतिक वातावरणलाई असर नपुग्ने गरी नदीजन्य पदार्थ निकासी गर्न सहमतिको पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।