• २५ वैशाख २०८१, मङ्गलबार

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

blog

कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसाल । फाइल तस्बिर

काठमाडौं, पुस २५ गते । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्नुहुँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

मन्त्री भुसालले दुग्ध बेचेको करिब १७ करोड रुपियाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताउनु भयो । उहाँले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको जानकारी दिनुभयो । चैतभित्रमा किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डिडिसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरूले भुक्तानी नपाएको समस्या रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धान उत्पादनको महत्त्व ठुलो छ । आर्थिक वर्ष २०७८/७९मा लिएको कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टरमा खेती गरिरहेका छौँ। त्यसमध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । धान खेतीको ६८ प्रतिशत हिस्सा तराईमा हो । तर १७ प्रतिशत मात्रै बालिमा सिँचाई हुन्छ । बाँकी आकाशे पानीको भरमा हो । आकाशबाट पानी आयो खेती हुन्छ नभए हुँदैन । त्यसैले तराईमा सिँचाइमा जोड दिन खोजेको हो ।’’

मन्त्री भुसालले धान उत्पादनको धेरै महत्त्व रहेकाले तराईमा सिँचाई सुविधा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टरमध्ये १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालिमा सिँचाई हुने गरेको बताउनु भयो ।

‘‘तराईमा पानीको फमहरु सुक्दै गएकाले चुरे फेदीबाट पूर्वपश्चिम नहर बनाउनु पर्छ । नदी प्रणालीलाई जोड्नुपर्छ । त्यो गर्नुको विकल्प छैन । त्यो नगर्ने हो भने तराई मधेस मरुभूमि हुन्छ । हामी अनिकालले मर्छौँ । भारतले धान निर्यात नगर्ने भनेको छ । विश्वमा खाद्य सङ्कट आउँदै छ ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘मुलुकको खाद्य भण्डार कहाँ हो भन्ने थाहा पाएनौँ र हामीसँग भएको जमिनलाई प्रयोग गर्न सकनौं भने हामी खाद्यान्नमा समस्यामा छौँ। डिडिसीको आम्दानी नगर्ने ऋण मात्रै थुपार्ने र किसानलाई भुक्तानी नगर्न र आम्दानीको रकम कहाँ गएको छ थाहा नभएकाले हामीले केही कदम चालेका छौँ । चैतभित्रमा नै किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन गरेको छु । यहाँ डिडिसीको मात्रै होइन यसको भन्दा बढी प्राइभेट क्षेत्रको धेरै छ ।’’

मन्त्री भुसालले तराईमा खाद्यान्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदी प्रणाली जोड्नुको विकल्प नभएको बताउनु भयो । उहाँले नदी प्रणाली जोड्न नसके तराई मधेस मरुभूमि हुने दाबी गर्नुभयो ।