• १४ मंसिर २०८१, शुक्रबार

प्रदेश योजनाको काम अन्तिम चरणमा

blog

खजुरास्थित आदर्श माध्यमिक विद्यालयको दुई कोठे भवनको निर्माण कार्यको अनुगमन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री । तस्बिर : गोविन्द शर्मा

गाोविन्द शर्मा
बाँके, पुस २५ गते ।
 बाँकेको खजुरा गाउँपालिका-३ डी गाउँस्थित आदर्श माध्यमिक विद्यालयको दुई कोठे भवन तथा पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले २० लाखको लागतमा दुई कोठे भवन र १२० मिटर पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सामाजिक विकास डिभिजन कार्यालयमार्फत अघि बढेको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर रानाभाटका अनुसार विद्यालयको सम्पत्ति संरक्षणका लागि ९६० मिटर लामो पर्खाल निर्माण गर्नुपर्ने हुन्छ ।

यसैगरी, सडक पूर्वाधार कार्यालयमार्फत एक करोड २५ लाखको लागतमा ई–गाउँ पेडारी सडकको अस्फाल्ट कालोपत्रेको काम समेत माघभित्र सम्पन्न हुने गरी काम अघि बढेको कार्यालय प्रमुख ललितबहादुर न्यौपानेले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘सबै योजनाहरू सम्झौता भई निर्माण कार्य अघि बढिसकेका छन् ।’’ सडक पूर्वाधारअन्तर्गत बाँकेमा ८० बढी योजना रहेका छन् । ७० करोड बढी बजेटका योजना रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, खजुरा ७ मनकामनामा रहेको दुर्गा कालिका तथा शिव मन्दिरको जग्गा संरक्षणका लागि पर्खाल निर्माण कार्य सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ पर्यटन डिभिजन कार्यालयमार्फत १० लाख रुपियाँ बजेटमा १२० मिटर पर्खाल निर्माण हुने प्राविधिक मूल्याङ्कन रहेकोमा १६५ मिटर लामो पर्खालको काम सम्पन्न गरिएको लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले जानकारी दिनुभयो ।

बाँकेमा लुम्बिनी प्रदेशअन्तर्गतका विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालु आर्थिक वर्षमा समयभित्रै योजनाको काम सम्पन्न हुने गरी काम अघि बढाइएको सम्बद्ध कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य खत्रीले चालु आवका लागि विनियोजन भएका अधिकांश योजनाको काम तीव्र गतिले अघि बढेको जानकारी दिनुभयो ।

बाँके ३(१) बाट निर्वाचित प्रदेश सभा सदस्य खत्रीले विभिन्न योजनाको स्थलगत अनुगमनपछि खत्रीले भन्नुभयो, ‘‘चालु आवका अधिकांश योजनाहरू समयमै सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको छ ।’’