• १५ मंसिर २०८१, शनिबार

सुन्तलाले भित्र्याउँदै असी लाख

blog

म्याग्दी समाचारदाता  

म्याग्दी, पुस २५ गते । म्याग्दीको बेनी नगरपालिका–३, मरेक तथा बालम क्षेत्रमा यस वर्ष झन्डै ८० लाख रुपियाँ सुन्तला बिक्रीबाट  भित्र्याउने अपेक्षा स्थानीयवासीले गरेका छन् । बेनी नगरपालिकाको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको बेनी नगरपालिकाको मरेक, बालम, बास्कुना, थामडाँडा तथा सुर्केमेला क्षेत्रमा यस वर्ष सुन्तला निकै राम्रो उत्पादन भएको सुन्तला कृषकको भनाइ छ । 

मरेकका अगुवा कृषक पदमबहादुर खत्रीले बेनपा–३, मरेक तथा बालम क्षेत्रका २१ परिवार कृषकले ७० हजारदेखि १२ लाख रुपियाँसम्मको सुन्तला बेच्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले गत वर्ष जस्तो राम्रो सुन्तला नफले पनि गुणस्तर र स्वाद तथा रङको चमक आइसकेकाले सुन्तला बिक्री गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष मैले मात्रै १३ लाख ५० हजारको सुन्तला बेचेको थिएँ । गत वर्ष जस्तै राम्रो सुन्तला नफले पनि १० लाखभन्दा बढीकै बिक्री  गर्ने आशा छ ।” 

मरेक तथा बालम क्षेत्रमा झन्डै दुई हजार हाराहारीमा सुन्तलाको बोट लगाइए पनि अहिले आधा जतिले मात्रै उत्पादन दिने कृषकको भनाइ छ । सबै कृषकका गरी गत साल ७५ लाख रुपियाँको सुन्तला बिकेको थियो । यस वर्ष पनि त्यही हाराहारीमा बिक्री हुने अनुमान गरिएको खत्रीको भनाइ छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका सुन्तला कृषक वीरबहादुर थापाले आफ्नो बगानबाट यस वर्ष चार लाख मूल्यको सुन्तला बिक्री गर्ने अपेक्षा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण भेगका युवा वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा गाउँबस्तीभन्दा बाहिर रहने भए पनि सुन्तला बिक्रीको याममा भने सुन्तला टिप्न व्यापारीले ल्याउने कामदार मात्रै नभएर सुन्तला कृषकका आफन्त पनि गाउँ बस्तीमा आउने हुँदा अहिले गाउँमा रमाइलो पनि छ ।”   

विसं २०६० देखि व्यावसायिक रूपमा सुरु गरिएको सुन्तला खेती गाउँको मुख्य आम्दानी स्रोत भएको छ । पछिल्ला वर्षमा हरेक वर्ष ५० लाखभन्दा बढी रकम सुन्तला बिक्रीबाट गाउँमा भिœयाउने गरेका कृषकले यस वर्ष नयाँ बोटले समेत फल दिएपछि आम्दानी बढ्ने स्थानीय वीरबहादुर थापाले बताउनुभयो । “मरेक तथा बालमका गरी सबै २१ घरधुरीले सुन्तला लगाएका छन् । उहाँले थप्नुभयो, “बाँझो जमिनमा अहिले सुन्तलाका बोट देखिन्छ ।” केही समयअगाडिसम्म खाद्यान्न उत्पादनमै तल्लीन हुने यस क्षेत्रका कृषक पछिल्ला वर्षमा परम्परागत खेती छाडेर खेतबारीलाई सुन्तला बगैँचा बनाएपछि आम्दानी बढ्दै गएको उहाँको भनाइ छ । 

मरेककी कर्णकुमारी पुर्जा पुनले ११ लाख रुपियाँको सुन्तला बिक्री गर्ने अपेक्षा गर्नुभएको छ । त्यस्तै गत वर्ष १३ लाख ५० हजार रुपियाँको सुन्तला बिक्री गरेका पदमबहादुर खत्री यस वर्ष ११ लाख रुपियाँ बराबरको सुन्तला बेच्ने बताउनुहुन्छ । जमुना थापा सात लाख, दिलबहादुर थापा छ लाख, वीरबहादुर थापा चार लाख, कर्णबहादुर सुवेदी चार लाख, इन्द्रबहादुर क्षेत्री तीन लाख र पदमबहादुर थापाले तीन लाख रुपियाँसम्मको सुन्तला बेच्ने बताउनुभएको छ । पदमबहादुर खत्रीले यो वर्ष ५० देखि ८० लाख रुपियाँसम्मको सुन्तला बिक्री हुने अनुमान गरिएको बताउनुभयो । 

व्यापारीले बगैँचामै ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला ८० रुपियाँ प्रतिकिलो लैजाने गरेका छन् । मरेक, डोले हुँदै बागलुङको ओखले जोड्ने सडक सञ्जालले गाउँमा उत्पादन हुने वस्तुको ढुवानी गर्न समस्या छैन ।