• १२ मंसिर २०८१, बुधबार

तुल्सीलाल स्मृति बुद्धिचालमा आयोजकको अग्रता

blog

काठमाडौँ, पुस २४ गते । नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा मंगलबारदेखि ललितपुरमा छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिताको तेश्रो चरण खेल सकिदासम्म आयोजक ललितपुर स्पोर्ट्स क्लब र दोलखा चेस होम ६/६ अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । प्रतियोगितामा दौरान क्लबका राजन सुवेदीले सीएम मिलन लामालाई, रिसोन थापाले कुशल बेलबासेलाई र आयुष देमन रौराले रिया श्रेष्ठमाथि जित हासिल गर्नुभयो । 

यस्तै सरोज महर्जन खेल स्थलमा  डिभाइस साथमा राखेर खेल्दा अयोग्य घोषित भई अङ्क गुमाउन पुग्नुभयो । दोलखा चेस होमका डब्लुएफएम सुजना लोहनीले अभिक शाहमाथि जित दर्ता गर्नुभयो ।वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र पुरुषोतम सिलवाल, मुहान नर्सिङ श्रेष्ठ र स्वर्णिम दुवाल, सुश्रुत दहाल र राजेश कक्षपति बीचको खेल बराबरीमा टुङ्गियो ।

ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठान हलमा जारी प्रतियोगितामा पूर्व टिम च्याम्पियन थापाथली पार्क चेस क्लबले दोखला जिल्ला बुद्धिचाल सङ्घमाथि २.५–१.५ को जित निकाल्न सफलभयो । पार्क टिमले पाँच अंक बनाएको छ । 

यसैगरी ललितपुर महानगरपालिका चेस टिमले कास्की जिल्ला बुद्धिचाल सङ्घमाथि २.५–१.५ ले जित दर्ता गरेको छ । ललितपुरका जनार्दन श्रेष्ठले महेश्वर अधिकारीलाई, पुनम प्रसाईले अनिज पोखरेललाई पराजित गर्नुभयो भने आर्य मुकारुङ र आश्चर्य चौधरीसँग बराबरी गर्दै ललितपुर टिमलाई महत्वपूर्ण जित दिलाउनुभयो। कमल श्रेष्ठ सागल शाईसँग पराजित हुनुभयो । 

अर्को खेलमा मकवानपुर जिल्ला बुद्धिचाल सङ्घले कास्की जिल्ला बुद्धिचाल सङ्घलाई पराजित गर्दा सीएम श्रृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमले जित हात पािर्नुभयो । अन्य खेलमा मख्खन चेस क्लब काठमाडौँले ललितपुर जिल्ला बुद्धिचाल सङ्घलाई हरायो ।

तीन पटकका पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले कृष्णमान महर्जनलाई, शतिष शाहले कपिल घिमिरेलाई, रियान श्रेष्ठले शुभम यादवलाई हराउनुभयो । आर बज्राचार्य र बाबुराजा महर्जनबीचको खेल बराबरीमा टुङ्गिएको थियो । 

यस्तै गोदावरी नगरपालिका र कोशी प्रदेश बुद्धिचाल सङ्घबिचको खेल बराबरीमा सकिएको थियो । गोदावरीका सान्ती धिमालले सजल न्यौपानेलाई पराजित गर्नुभयो । धिरेन राई र प्रकाश चन्द्र नेपाल, अशाक मोहन श्रेष्ठ र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकियो भने सुभव न्यौपाने मिसन दहालसँग पराजित हुनुभयो । प्रतियोगिता पुस २८ गतेसम्म सञ्चालन हुने संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो ।