अविनाश चौधरी
धनगढी, पुस २४ गते । कैलालीस्थित कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । गाउँ सभाका अध्यक्ष राजसमझ चौधरीले अधिवेशनको उद्घाटन गर्नुभयो । उहाँले गाउँ सभामा शोक प्रस्ताव पेस गर्नु भएको छ । सो पालिकाको वडा नम्बर ८ का वडा सदस्य माघुराम चौधरी र वडा नम्बर ९ मा कार्यरत असिस्टेन्ट इन्जिनियर विशेष चौधरीको केही महिना अगाडि निधन भएको थियो ।
हिउँदे अधिवेशनमा वन सम्बन्धी लगायतको ऐन बनाउने, बरघर ऐनलाई संशोधन गर्ने गाउँ सभा अध्यक्ष चौधरीले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहका सभाको बैठक वर्षमा दुई पटक बस्ने व्यवस्था रहेको छ । हिउँदे अधिवेशनलाई ऐन, कानुन बनाउने अधिवेशनको रूपमा लिने गरिन्छ ।