• ४ जेठ २०८१, शुक्रबार

अभ्यास खेलमा नेपाल यु–१९ टोली विजयी

blog

स्कटल्यान्डलाई हराएपछि नेपाली खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, पुस २४ गते । गुलसन झाले अलराउन्डर प्रदर्शन गरेपछि नेपाली यु–१९ क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको छ । दक्षिण अफ्रिकामा मंगलबार भएको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो ।

जितको लागि दुई सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४९ रनमा समेटिएको थियो । स्कटल्यान्डका लागि उजैर अहमदले २८ र खानले २४ रन बनाउनुभयो । अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । बलिङमा नेपालका तिलकराज भण्डारीले तीन तथा आकाश चन्दले दुई विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८४ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले एक सय १४ रनको शतकीय पारी खेल्नुभयो । उहाँले

एक सय १५ बलमा उक्त रन जोड्नुभएको हो । दीपक बोहराले अविजित ५८ रन बनाउनुभयो । जनवरी १९ देखि फेब्रुअरी ११ तारिख सम्म दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ विश्वकपका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ ।

विश्वकप अघि नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग ‘वार्मअप’ खेल पनि खेल्नेछ । विश्वकपमा भने नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।