• १७ असार २०८१, सोमबार

ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्री

blog

फाइल तस्बिर

रामपुर (पाल्पा), पुस २४ गते । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय कमजोर छन् भन्ने आम नागरिकको बुझाइ छ । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन संस्थागत विद्यालयमा नै पढाउनुपर्छ भन्ने धारणा यतिबेला सामुदायिक विद्यालयले मेटाइदिएको छ ।

समयानुकूल प्रविधिको प्रयोगमा सामुदायिक विद्यालयले जोड दिन थालेपछि विद्यार्थीको सङ्ख्या बढ्दो छ । सामुदायिक विद्यालयले प्रविधिमा विद्यार्थीलाई अब्बल बनाउन सुविधा सम्पन्न प्रयोगशाला तयार पारेर कम्प्युटर शिक्षालाई व्यवस्थित बनाउँदै लगेका छन् । शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला तयार पारेर साना र ठुला कक्षाका विद्यार्थीलाई फरक-फरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था गराइएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ ।

“तल्ला र माथिल्ला कक्षाका विद्यार्थीलाई छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्था गरिएको छ, विषय शिक्षकले पाठअनुसार सम्बन्धित विषयवस्तुको बारेमा प्रयोगशालामा विद्यार्थी लगेर शिक्षण कार्य गराउनुहुन्छ, कम्प्युटर सिक्ने भनेपछि विद्यार्थी धेरै उत्सुक हुने गर्दछन्”, उहाँले भन्नुभयो । धेरै समय अघिदेखि नै यस विद्यालयमा कम्प्युटर कक्षा हुने गरेको थियो भने दुईवर्षदेखि व्यवस्थित रूपमा कम्प्युटर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । 

यहाँको कम्प्युटर प्रयोगशाला नमुना खालको छ । कम्प्युटर प्रयोगशालालाई व्यवस्थित बनाएपछि विभिन्न स्थानबाट अवलोकन गर्न आउने क्रम बढ्दै गएको छ । कक्षा ६ देखि माथिका विद्यार्थीलाई एकै कोठामा ३० कम्प्युटरको व्यवस्था छ । साना कक्षामा अध्ययनरत विद्यार्थीका लागि छुट्टै कोठामा १५ कम्प्युटर सिकाइका लागि व्यवस्था गरिएको छ । इभेण्ट परियोजनाको सहयोगमा ३२ लाख बराबरको लागतमा व्यवस्थित कम्प्युटर प्रयोगशाला प्रयोगमा ल्याइएको प्रअ लम्सालले बताउनुभयो ।  

कम्प्युटर शिक्षालाई व्यवस्थित बनाउन थालेपछि शिक्षण कार्यमा विद्यार्थीको रुचि बढेको गङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले बताउनुभयो । यस विद्यालयमा एकै पटकमा २० जना विद्यार्थीले बसेर कम्प्युटर सिक्ने व्यवस्था छ । कम्प्युटरका अलवा शिक्षण कार्यसँग सम्बन्धित अन्य प्रविधि, पुस्तकालय, शैक्षिक सामग्रीलगायतको पर्याप्त सुविधा विद्यालयले दिइरहेको छ ।

यहाँका सामुदायिक विद्यालय प्रविधिको प्रयोगमा संस्थागत विद्यालयको तुलनामा अग्रपङ्क्तिमा रहेको रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । तल्ला कक्षादेखि नै विद्यार्थीलाई कम्प्युटरसम्बन्धी सिकाइमा जोड, अतिरिक्त क्रियाकलाप, आधुनिक शैक्षिक सामग्री लगायतमा सामुदायिक विद्यालयको अग्रसरता रहेको उहाँको भनाइ छ । सामुदायिक विद्यालय भनेपछि पढाइ राम्रो हुँदैन भन्ने नकारात्मक दृष्टिकोण अहिले अभिभावकमा हट्दै गएको पाइएको छ ।

निजी विद्यालयमा सरह नै पर्याप्त शैक्षिक सामग्री, प्रविधिमैत्री शिक्षा दिन थालेपछि अभिभावकको सामुदायिक विद्यालय रोजाइमा परेका छन् । यहाँका रामतुलसी, गङ्गा, दरैठाँटी, जनविकास लगायतका विद्यालय मावि तहमा शैक्षिक क्षेत्रमा अब्बल मानिन्छन् । यी विद्यालयको अनुसरण गर्दै अन्य विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा सुधार गर्दै गएका छन् । 

विद्यालयमा नै व्यवस्थित कम्प्युटर सिक्ने सुविधा भएपछि बाहिर इन्स्टिच्युट आधारभूत सिकाइका लागि जानु परेको छैन । विद्यालयले समयानुकूल प्रविधियुक्त शिक्षा प्रदान गर्न छुट्टै कम्प्युटर शिक्षकको व्यवस्था गरी पठन पाठनको व्यवस्था मिलाएको छ । समय समयमा सिकाई स्तर वृद्धि गर्न शिक्षकलाई विभिन्न तालिम, गोष्ठीको आयोजना, शैक्षिक गुणस्तर उकास्न अभिभावक, सरोकारवालासँग सुझाव सङ्कलनको कार्य भइरहेको छ । रासस