• २४ वैशाख २०८१, सोमबार

विद्यालयको कम्प्युटर चोरी

blog

ल्यापटप र डेस्कटप कम्प्युटर चोरी भएपछि खाली भएको विद्यालयको सूचना प्रविधि कक्ष ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक विद्यालयको कम्प्युटर चोरी भएको छ । मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयमा रहेको कम्प्युटर चोरी भएको हो ।

सो विद्यालयकी शिक्षक शान्ता आङ्बुहाङका अनुसार सूचना प्रविधि कक्षमा रहेका दर्जनभन्दा बढी ल्यापटप र डेस्कटप कम्प्युटर सोमबार राति चोरी भएको हो । विद्यालयको सूचना प्रविधि कक्ष कोठाको ताला फोरेर कम्प्युटरसहितका उपकरणहरु चोरी भएको शिक्षक आङ्बुहाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्यालयको सूचना प्रविधि कक्षमा रहेका १२ थान ल्यापटप र चार थान डेस्कटप कम्प्युटर चोरी भएको । यस्तै कम्प्युटरका चार्जर र मल्टिप्लक लगायतका विद्युतीय सामग्रीसमेत चोरी भएको विद्यालयले जानकारी दिएको छ । 

यता विद्यालयमा चोरी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय दोभानबाट गएको प्रहरी टोलीले चोरी घटनाको विवरण सङ्कलन गरिरहेको पनि शिक्षक आङ्बुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार करिब साढे ११ लाख रुपियाँ बराबरको कम्प्युटरलगायतका सामग्री चोरी भएको हुनसक्ने अनुमान गरिएको छ । विद्यालय स्रोतका अनुसार विगतमा पनि सामान्य चोरीको घटना हुने गरेको थियो ।

सो विद्यालयमा ह्युमन प्राक्टिस फाउण्डेसन (एचपीएफ) को सहयोगमा सूचना प्रविधि कक्ष सञ्चालनमा ल्याइएको थियो । प्रविधि कक्षमा भएको सबै कम्प्युटरसहित विद्युतीय उपकरण चोरी भएको प्रहरीले जनाएको छ । घटनाको संलग्नताबारे हालसम्म अज्ञात रहेको र अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।