यादवराज पुरी
रौतहट, पुस २४ गते । विभिन्न मुद्दामा बरामद गरी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएका सवारीसाधन समयमा लिलाम नहुँदा कवाडी बन्दै गएपछि लिलामी प्रक्रिया अघि बढाएको छ।
२०७५ सालदेखि नै अलपत्र अवस्थामा थन्किएका दुई हजारभन्दा बढी सवारी साधनको समयमै लिलाम नगरिँदा कबाडी बनेको सर्वत्र चर्चा चलेपछि कार्यालयले ती गाडीको चालु आर्थिक वर्ष मै लिलाम गर्ने गरी पक्रिया अघि बढाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी दाखिला गरेका करोडौं मूल्य बराबरका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन अलपत्र र अव्यवस्थित अवस्थामा रहेको कारण घाम, वर्षा, शीत, डुबान लगायत कलपुर्जा चोरीले गर्दा अधिकांश गाडी थोत्रा(कबाडी) बनेको सहजै अनुमान लगाउन सकिन्छ ।
विगत पाँच वर्षदेखि भन्सार कार्यालय परिसरमा थन्किएका ६० वटाभन्दा बढी चार पाङ्ग्रे र दुई हजारभन्दा बढी दुई पाङ्ग्रे सवारीका साधनलाई हाल भन्सार कार्यालय नजिकै रहेको सशस्त्र प्रहरी क्याम्पको चौरमा व्यवस्थित तरिकाले राखी गाडीको ‘इन्जिन’ तथा ‘चेचिस’ नम्बर टिप्ने कार्य भएको भन्सार कार्यालयका सूचना अधिकारी रेवतीराम रोक्काले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, “गाडीको इन्जिन तथा चेचिस नम्बर टिप्ने कार्य सकिएपछि त्यसको लगत सम्बन्धित डिलरमा पठाई उत्पादन वर्षको जानकारी लिइन्छ । त्यसको आधारमा र गाडीको कण्डिसनको आधारमा इन्जिनियरले मूल्याङ्कन गरेपछि मात्र लिलामको लागि सूचना प्रकाशित गराइन्छ । चालु आर्थिक वर्षभित्रै लिलाम सम्पन्न गरिनेछ ।”
सुरक्षाकर्मीले विभिन्न मितिमा पक्राउ गरी दाखिला गरेका ती सवारीको लिलाम समयमै भएको भए राजस्व पनि राम्रै प्राप्त हुन्थ्यो तर भन्सार कार्यालयको उदासीनताले समयमा लिलाम हुन नसक्दा कबाडी बनेका ती गाडीबाट सोचेजस्तो राजश्व असुल नहुने गौर नगरपालिकाका युवा समाज सेवी अशोक कुशवाहाको गुनासो छ । सुरक्षाकर्मीले चालु हालतमा भन्सार कार्यालय दाखिला गरेको सवारीसाधन अहिले अधिकांश कामै नलाग्ने स्थितिमा रहेको भन्सारका कर्मचारी नै बताउँछन् ।