• ६ माघ २०८१, आइतबार

शीतलहरका कारण रौतहटका सामुदायिक विद्यालय चार दिन बन्द

blog

यादवराज पुरी
रौतहट, पुस २४ गते ।
केही दिनयताको शीतलहरसँगै चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय धमाधम बन्द हुँदैछन् । शिक्षा समन्वय एकाइ रौतहटले जाडो अत्यधिक बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखी जाडो बिदा दिन जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएका हुन् ।

जिल्लाको चन्द्रपुर, फतुवाविजयपुर, देवाहीगोनाही, कटहरियालगायत १८ वटा पालिकाले मङ्गलबारदेखि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् ।

शिक्षा समन्वय एकाइ रौतहटका प्रमुख रामविनय सिंहले जिल्लाका १८ वटै पालिकाका सबै सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुने गरी पाँच दिनसम्म जाडो बिदा दिन सोमबार नै सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको बताउनुभयो ।

उहाँका अनुसार शिक्षा नियमावली २०५९ को नियम ८५ को उप नियम ३ मा उल्लेख भएअनुसार एक शैक्षिक सत्रमा हिउँद वा वर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान रहेकोले सोहीबमोजिम सञ्चित रहेको वर्षे बिदाबाट जाडो बिदा दिन सूचना जारी गरेको हो ।