• ११ मंसिर २०८१, मङ्गलबार

सभामुख र आयरलयाण्डका माथिल्लो सभाका अध्यक्ष बट्टिमरबिच भेट

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र आयरलयाण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबिच भएको भेटवार्ता । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस २४ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र आयरलयाण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबिच भेटवार्ता भएको छ ।

नेपालको पाँचदिने औपचारिक भ्रमणमा आउनुभएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेट गर्नुभएको हो । भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबिच दुई देशको सम्बन्धका विस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको सङ्घीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले बताउनुभयो ।

उहाँले सभामुख घिमिरेले आफू आयरल्याण्ड भ्रमण जाँदा राखेका संसदीय अभ्याका सहयोग र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुराहरु उठाएको बताउनु भयो । सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिनुभएको कार्यवाहक महासचिव पाण्डेयले बताउनुभयो ।

जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्याण्डमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किए लगत्तै आयरल्याण्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिबद्धता जनाउनुभएको पनि कार्यवाहक महासचिव पाण्डेले जानकारी दिनुभयो ।

‘‘भेटमा दुई देशका संसदको आपसी सहयोग कसरी हुनसक्छ ? भन्ने विषयमा महत्त्वपूर्ण छलफल भएका छन् । सभामुख आयरल्याण्ड भ्रमणमा जाँदा उठाउनुभएका विषय नेपाल र आयरल्याण्डबिचमा पाल्र्यामेण्ट्री सपोर्ट कसरी हुनसक्छ ? भन्नेबारेमा छलफल भएको छ । नेपालका विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्छ भन्नेकुरामा छलफल भयो । युकेको भिसा लिएका नेपालीहरुलाई आयरल्याण्ड भिजिट गर्न दिनेकुरा उठाउनुभयो ।,’’ महासचिव पाण्डेले भन्नुभयो, ‘‘संसदीय अभ्यास र जानकारी साटासाटका कुराहरु पनि छलफल भयो । यो सवालमा उहाँहरु सकारात्मक हुनुहुन्छ । आयरल्याण्डको राष्ट्रिय सभा अध्यक्षले सभामुखको भिजिटका क्रममा उठेका कुराहरु स्मरण गरिहरेको र त्यसलाई कार्यान्वयन गर्न लागिरहेको बताउनु भयो । एजुकेशनको बारेमा सकारात्मक भएको बताउनुभयो । आयरल्याण्डमा नेपाली विद्यार्थीहरुका लागि स्कलरसिप खोज्नेकुरामा सकारात्मक कुरा भएको छ ।’’

भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आउनुभएको हो ।  उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चपदस्थ व्यक्तिसँग भेट गर्ने कार्यक्रम छ ।