• २१ वैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा

blog

प्रदर्शनी बारे जानकारी गराउँदै आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँकेका पदाधिकारी तस्बिर : गोरखापत्र

कमल खत्री

नेपालगन्ज, पुस २३ गते । महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगन्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको  तयारी पूरा भएको छ । आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँकेले मंगलबार पत्रकार सम्मेलन गर्दै आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको हो । 

प्रदर्शनी संयोजक एवम् महिला उद्यमी सङ्घ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले सम्पूर्ण आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको र मंगलबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्ने जानकारी दिनुभयो । 

उद्घाटन समारोहमा आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकोमा अध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्ष वासन्ती प्रधान, केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी सङ्घका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

महिला उद्यमी सङ्घ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदेशले हरेक वर्ष नयाँ उचाइ हासिल गर्दै गएको छ । यस वर्ष पनि महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरूको रहेको सीप, क्षमता र शक्तिलाई देशको आर्थिक विकासमा रूपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताउनुभयो । 

स्थानीय उत्पादन र महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरणमा प्रदर्शनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताउनुभयो । पुस २४ देखि २८ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित बागेश्वरी मन्दिर परिसरमा प्रदर्शनको आयोजना हुनेछ । 

यसपटक प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरूको उत्पादनहरू प्रदर्शनमा आएका छन् । प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले सञ्चालन गरेको उद्योगबाट उत्पादित कृषि उत्पादन, कपडाहरू, खाद्यान्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरू, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवर्द्धन स्टल लगायतका सामाग्रीहरूका स्टल प्रदर्शनीमा रहनेछन् । 

नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासङ्घ नेपालसँगको सहकार्यमा हुन लागेको आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई विगत भन्दा अझ सफल र भव्य बनाउने तयारी गरिरहेको अध्यक्ष बस्नेतले बताउनुभएको छ । 

यस पटक ६५ भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहनेछन् । प्रदर्शनी कार्यक्रमका दौरान हामीले महिला उद्यमीहरूको समस्या र नयाँ सम्भावनाको खोजी गर्ने पनि प्रयास गर्ने आयोजकले बताएको छ । प्रदर्शनीका दौरानमा सफल महिला उद्यमीहरूको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । पुस २६ गते महिला उद्यमीहरूको समस्या र चुनौती विषयमा सरोकारवाला निकायहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम रहनेछ । 

प्रदर्शनमा आएका स्टलहरू मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ । प्रदर्शनीले महिला उद्यमीहरूको आत्मविश्वास, सीप, क्षमता र बजारीकरणमा महत्त्वपूर्ण सहयोग गर्दै आएको महिला उद्यमी सङ्घ नेपालको केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताउनुभयो । प्रदर्शनी आर्थिक रूपमा प्रभावकारी बन्दै गएको प्रदर्शनीको आर्थिक संयोजक शशि स्वाँरले भनाई राख्नुभयो ।