• १२ असार २०८१, बुधबार

स्वास्थ्य परीक्षण अभियान सुरु

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस २३ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्वास्थ्य परीक्षण अभियान थालिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले नसर्ने रोगको समस्या स्वास्थ्य चुनौतीका रूपमा रहेको चर्चा गर्दै त्यसको रोकथाम गर्न स्वास्थ्य परीक्षण थालिएको बताउनुभयो । उहाँले सो अभियान अहिले तीन जिल्लामा नमुनाका रूपमा सञ्चालन गरिए पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गरिने जानकारी दिनुभयो । 

मुख्यमन्त्री शर्माले शनिबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा नागरिक स्वास्थ्य परीक्षणमा अभियानको शुभारम्भ गर्नुभयो । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, सुर्खेतको चौकुने गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका तथा हुम्ला जिल्लालाई लक्ष्य गरी उक्त अभियान सञ्चालन गरिएको छ ।

उहाँका अनुसार सरकारले स्वास्थ्य सेवालाई प्रवर्धनात्मक र उपचारात्मक दुवै किसिमले लगेको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिलाई उपचारसँगै सचेतनामूलक कार्यमा पनि एकसाथ लिएर जानु पर्छ । नागरिकको स्वास्थ्य परीक्षण, उपचार र जनचेतना जागृत गर्ने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिको भएको मुख्यमन्त्री शर्माको भनाइ छ । उहाँले भूकम्प प्रभावित स्थानीय तहमा प्रदेश सरकारले स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भूकम्पपश्चात् खोज, उद्धार, उपचार, राहत र अहिले पुनर्निर्माणका लागि प्रदेश सरकारले जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले यस अभियानले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्ने जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाका आधारमा पञ्चवर्षीय नीति कार्यक्रम बनाइने जनाइएको छ । यस अभियानले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर कार्यक्रम र बजेट तय गरिएको बताउनुभयो । उहाँले कर्णालीवासीको स्वास्थ्य सेवालाई थप सरल र सहज बनाउन सरकार लागिपरेको बताउनुभयो । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा रुकुमपश्चिम र सुर्खेत तथा दोस्रो चरणमा हुम्लामा नागरिकको स्वास्थ्य परीक्षण गरिने जनाएको छ । अभियान शुभारम्भसँगै अभियानबारे स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसमेत गरिएको थियो ।