• २६ वैशाख २०८१, बुधबार

दुधौलीका किसान आफैँ तावाखोलाको कटान नियन्त्रण गर्दै

blog

दुधौली नगरपालिका–७ मा स्थानीय स्रोत साधनको प्रयोग गरेर तावा खोला नियन्त्रण गरिँदै तस्बिर : बाबुराम देवकोटा

सिन्धुलीमाढी, पुस २० गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–७ स्थित तावा खोलाको कटानले बर्सेनि उर्वर जमिनको कटान र बस्ती नै जोखिममा परेपछि यतिखेर स्थानीय आफैँ उक्त खोलाको कटान नियन्त्रणमा जुटेका छन् ।

स्थानीयका अनुसार कमला नदीको सहायक नदीको रूपमा रहेको तावा खोलामा वर्षादको मौसममा आउने बाढीका कारण सुघारे, थामीटोल र डम्बरखाडीको बस्ती जोखिममा पर्दै आएको छ । यतिखेर स्थानीय स्थानीय स्रोत, साधनको प्रयोग गरी तावा खोलामा बाँध निर्माण गरेर बस्ती र उर्वर जमिन बचाउन जुटेका हुन् ।

तावा खोला कटान नियन्त्रणका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङघीय सरकारले चासो नदिएपछि स्थानीय आफैँ स्वस्फुर्त रूपमा बाँस र काठको बेरा(बार) लगाई तटबन्ध निर्माण गरेर नदी नियन्त्रणमा एक सातादेखि जुट्दै आएको स्थानीय किसान बुद्धिमान अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुघारे, थामीटोल र डम्बरखाडी क्षेत्रमा करिब तीन सय बिघा उर्वर जमिन माथि अहिले पनि तावा खोला बगी रहेको छ । ‘‘जग्गा छैन भनौँ भने लालपुर्जा छ, त्यही जग्गामाथि अहिले तावा खोला बगी रहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म यहाँका किसानको पीडालाई तीनै तहको सरकारले राम्रोसँग सुनेनन् ।’’

अहिले पीडित किसान आफैँ स्थानीय स्रोत र साधन प्रयोग गरी जनश्रमदान गरेर नदी नियन्त्रणमा लागि परेको उहाँले सुनाउनुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले कछुवा गतिमा तटबन्धको काम गरे पनि विनाश बढ्दै गएकाले आफैँ अग्रसर भएको स्थानीय बताउँछन् । तावा खोलाले मात्रै नभई दुधौली नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० मा कमला नदीले बस्ती तथा खेतीयोग्य जमिन बर्सेनि कटान गरी बगरमा परिणत गराउदै  आएको छ ।

त्यसो त दुधौली नगरपालिकाको कमलाखुँज फाँट, तीनपाटन फाँट र मरिण क्षेत्र जिल्लाकै अन्न भण्डार क्षेत्रको रूपमा चिनिन्छन् । कुनै बेला दुई/चार बिघा उर्वर जग्गाको मालिक रहेको किसान कमला नदी कटानकै कारण यतिखेर सुकुम्वासी बनेर गाँउघरमा बनिबुतो गरेर परिवार पाल्न बाध्य बनेका दुधौली नगरपालिका–१ का वडा सचिव हेरम्बराज अधिकारी बताउनुहुन्छ ।

बागमती प्रदेश सरकारको सहयोगमा तीन वर्षअघि देखि कमला नदी नियन्त्रण गर्न सुरु गरिएको कोरिडोर निर्माण कार्य सुस्त बनेको स्थानीयले गुनासो गरेका छन् । सुरुमा कोरिडोर निर्माण सुरुसँगै उत्साहित बनेका कमला नदी पीडित किसान अहिले भने निराश बन्दै गएका छन् ।

स्थानीयका अनुसार दुधौली नगरपालिकाको वडा नं. २ र ३ बाट कोरिडोर निर्माण गरिएको थियो । अहिले काम नै भएको देखिँदैन । कोरिडोर निर्माण कार्य निकै सुस्त बनेको देखिन्छ  कमला नदीको दुवै किनार निपाने र रतनपुर तिरबाट निर्माण सुरु गरिएको उक्त कोरिडोर झण्डै एक किलोमिटर निर्माण भई अहिले रोकिएर बसेको अवस्था छ । कोरिडोर निर्माणमा बागमती प्रदेश सरकारसहित छ करोड रुपियाँ खर्च भई सकेको बताइएको छ ।

दुधौली नगरपालिका–२ का वडा अध्यक्ष रितेस राउत पनि जनप्रतिनिधि फेरिएसँगै पहिले सुरु गरिएको ठाउँबाट कोरिडोर निर्माणले निरन्तरता नपाएको बताउनुहुन्छ । ‘‘अहिले डकाहा र हर्षाही लगायतको ठाउँबाट कोरिडोर निर्माण सुरु गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘अहिले कनिका छरेजस्तै गरी कोरिडोर निर्माणको काम भएको छ । पहुँच हुनेले जताजतै भन्यो, उतैउतै काम भएका छ ।’’

उहाँका अनुसार दुधौली नगरपालिकाले कमला नदी नियन्त्रण गर्न गुरु योजना नै बनाइएको छ । कोरिडोर निर्माणका लागि नदीको किनारमा २० मिटर चौडाइको बेस निर्माण गरी तटबन्ध निर्माण गर्ने र पुरा हुँदा टप(माथि) आठ मिटरको हुन्छ । त्यही आठ मिटरमा सडक निर्माण गर्ने गरी काम सुरु भएको थियो । कमला नदीको कटानले वर्षाको मौसममा दुधौली नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० मा गरी चार हजार तीन सय मिटर लम्बाई क्षेत्र प्रभावित पार्दै आएको उक्त नगरपालिकाले जनाएको छ ।

स्थानीय किसानका अनुसार तावा खोला र कमला नदीमा आएको बाढीले सबैभन्दा बढी क्षति २०४१ र २०५० सालमा आएको बाढीले पुर्‍याएको हो ।