• २७ वैशाख २०८१, बिहिबार

पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी

blog

फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा ।

अनिल पराजुली

हेटौँडा, पुस २० गते । बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोकमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि पुस २१ गतेसम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो । 

फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले समग्र मकवानपुरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने विषयमा जनप्रतिनिधिहरुबिच छलफल भइरहेको बताउनुभयो । भारतीयलाई मकवानपुरमा आकर्षित गर्नसके पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विभिन्न देश तथा स्थानीय तहसँग भगिनी सम्बन्ध बनाउने काम पनि भइरहेको बताउँदै नगर प्रमुख लामाले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिनुभयो । 

गणेश विष्ट रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश जेपाल, श्रीकृष्ण श्रेष्ठ, विज्ञान विष्ट, प्रेम बलामी, सुरजकुमार भुजेल र शम्भु अधिकारीले खिचेको फोटोहरू प्रदर्शनीमा राखिएका छन् । थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनीमा राखिएको छ । 

काठमाडौँबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गरिएको फरक सोचका संयोजक यादवजंग रायमाझीले बताउनुभयो । थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवम् बाह्य पर्यटकको रोजाइमा परिरहेको सन्दर्भमा आयोजना गरिएको फोटो प्रदर्शनीले यहाँको पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकको भनाइ छ । 

थाहा नगरपालिकाको आयोजना एवम् हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखा र फोटो पत्रकार सङ्घ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी भइरहेको छ ।